Shittalpati
बढ्दो नैरास्यता

मुलुकले नयाँ निकास पाउँन सकेको छैन । फलस्वरुप हरेक समस्याहरुले नराम्रोसंग जरागाडी रहेका छन् । राजनैतिक स्थिरता हराएको आभास भएको छ । जनतामा नैरास्यता बाहेक अरु खासै केही पनि देखिदैन् । छवि, रवि, प्रसाई अनेकन काण्डै काण्डले गर्दा पनि मुलुकमा राजनैतिक तरलता मौलाएको अवस्था हो । नयाँ सोंचका साथ बहुमतको सरकारले जनताका पक्षमा गर्ने कतिपय निर्णयहरु पनि विभिन्न अराजकताका घटना र परिघटनाका कारणले समाजमा सकारात्मकता प्रर्दशन गर्न सकिरहेका छैन्न । समस्या समाधान भन्दा पनि समस्या थपिनेक्रम जारी छ । राजनैतिक चिन्तनहरुले सबै नकारात्मकताको सूचकहरुसंग बढी मेल खाएका छन् । हरेक जिल्ला, गाउँ अनि टोल–टोलमा सरकारबाट आशावादीहुनेहरुको संख्या घट्नेक्रम जारी छ । जो जहाँ भए पनि देशका प्रति आवश्यकता भन्दा बढी चिन्तित देखिन्छन्, तर आफ्नो जिम्मेवारी र कर्तव्यबाट विमूख भएको कुरा बुझ्न र बुझाउँन सक्ने परिस्थितिको पहिचान हुन सकेन । राजनैतिक दलहरुले राम्रो र सुधारात्मक क्रियाकलापलाई बढावा दिए पनि, जस पाउँने अवस्था अहिले कतैबाट पनि छैन् । व्यवस्था प्रतिको विष वमनका कारण नकारात्मकताका वादलहरु मडारिरहेका छन् । सोंच र खोज प्रति चासो कम छ । कृषि, उत्पादन, युवा स्वरोजगार अनि आर्थिक बिकासका कुरा केवल भाषणमा मात्रै सिमित जस्तै भएका छन् । 

विकासका नाममा डोजर संस्कृतिले फड्को मारेको छ । बजारमा महंगी दिन प्रतिदिन वढेको छ । विदेशिनेहरुले आफु मात्रै नभएर देशबाटै शैक्षिक ऋण लिएर विदेशका विश्वविद्यालयमा बुझाउँन वाध्य छन् । स्वास्थ्य क्षेत्रमा देखा परेका समस्याहरु प्रति कसैको चासो छैन । वित्तीय क्षेत्र शाहुपल्टी रहेका छन् । ऋण लिएर केही गर्न खोज्नेहरुका लागि व्यवसासयिक वातावरण श्रृजना गर्ने सरकारको कुनै पनि नीति कार्यान्वयन हुन सक्दैन । तमाम समस्याहरुका थुप्रै थुप्राको बीच हाम्रो मुलुक टुलुटुलु संकट हेर्न बाध्य छ । राजनैतिक निकास र स्थिरताका कुरा गर्नेहरु पनि अहिले हराएका छन् । त्यस कारण यी र यस्ता तमाम समस्याको निकास र मुलुकको समग्र विकासका लागि सबै एक जुट भएर देश र जनता प्रति जिम्मेवार नहुने हो भने, यो नैरास्यता बढ्दै जाने र व्यवस्था प्रति नै घात प्रतिघातको खतरा बढ्ने संकेतहरुलाई अब गम्भीर भएर रोक्नैपर्छ । अन्यथा मुलुकले कुनै पनि बेला संकट बेहोर्ने र लोकतन्त्र प्रति नै घात प्रतिघातका खतराहरु मडराई रहनेछन् ।  

प्रकाशित मिति: बुधबार, मंसिर १२, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update