पाल्पा, लुम्बिनी प्रदेशका सांसद तथा पुर्वमन्त्री वीरबहादुर रानाले लगानीको वातावरण नहुँदासम्म देशको समृद्धि हुन नसक्ने बताएका छन् । मंगलबार पाल्पा उद्योग वाणिज्य संघको ५८ औं स्थापना दिवस समारोहलाई तानसेनमा सम्बोधन गर्दै सांसद रानाले लगानीको वातावरण नहुँदासम्म देशको विकास र समृद्धि हुन नसक्ने बताएका हुन् ।
उनले पाल्पामा लगानीको वातावरण नहुँदा उद्योगी, व्यवसायीहरु पलायन हुँदै गएको भन्दै उनीहरुलाई रोक्न स्थानीय, प्रदेश र संघीय सरकारले लगानीको वातावरण सिर्र्जना गर्नुपर्ने धारणा व्यक्त गरे । सांसद रानाले भने, ‘लगानीको वातावरण सिर्जना गर्ने दायित्व सरकारको हो, त्यसैले लगानीको वातावरण बनाइ दिन मेरो तीनै तहका सरकारसँग विनम्र आग्रह छ ।’ उनले देशमा केही हुँदैन भन्ने भाष्य सिर्जना गरिएकाले त्यो गलत भएको उल्लेख गरे । सांसद रानाले देशमै सभावना भएकाले सोंचमा परिवर्तन गर्न जरुरी रहेको बताए । उनले भने,‘पाल्पामा थुप्रै संस्कृति, प्रकृति र सम्पदा भएकाले तिनीहरुको सही ढंगले पहिचान गरी उपयोग गर्न सकियो भने संभावना यही छ ।’ तानसेनमा सम्भावनै सम्भावना भएकाले एक पटक सबैले उज्यालो तानसेन बनाउन संकल्प गर्नुपर्नेमा सांसद रानाले जोड दिए । उनले भने,‘मैले त तानसेनको विकास गर्न सकिन्छ भन्ने सपना देखेको छु । जसले गर्दा जन्म घर फर्केर हेर भन्ने नारा नै तय गरेको छु । त्यही अनुसार म आफुलाई अगाडि बढाएको छु ।’ सांसद रानाले संघको भवन निर्माणमा यस अघि आफ्नो पहलमा बजेट पारेको र अब भवनलाई पूर्णता दिन फेरी पनि पहल गर्ने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा संघका निर्वतमान अध्यक्ष राजु महर्जन, पूर्व सांसद यादव बहादुर रायमाझी, प्रमुख जिल्ला अधिकारी तोय नारायण सुवेदी, पाल्पा व्यापार संघका अध्यक्ष बामदेव बस्याल, पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखीरामा राना लगायतले सघको सफलताको शुभकामना व्यक्त गरे ।
सोही अवसरमा संघका पूर्व अध्यक्षहरु हरि रायमाझी, मधु दयाल सैजु, मोहनप्रसाद श्रेष्ठ लगायले आफ्नो कार्यकालको अनुभव राखेका थिए । संघका अध्यक्ष शैलेन्द्र भट्टराईले जिल्लाका उद्योगी, व्यवसायीहरुको हक र, अधिकार र जिल्लाको आर्थिक विकासका लागि संघ प्रतिवद्ध भएर लागेको बताए । अध्यक्ष भट्टराइको अध्यक्षता, महासचिव समिरमान सिंहको सञ्चालनमा कार्यक्रम भएको थियो ।