Shittalpati
पाल्पा अस्पतालको न्यूनतम सेवा मापदण्डमा सुुधार, पायो ६४ प्रतिशत अंक

पाल्पा, न्युनतम सेवा मापदण्डको आधारमा जिल्ला अस्पताल पाल्पाले ६४ प्रतिशत अंक प्राप्त गरेको छ । विभिन्न सूचकका आधारमा मापन गरिँदा अस्पतालले सो अंक पाएको हो । यो विगतको तुलनामा सुधारोन्मुख अंक हो । अघिल्लो  वर्षको मापन अनुसार ५४ प्रतिशत रहेकोमा अहिले १० प्रतिशत बढेको हो । २०२१ मा गरिएको मूल्याङ्कनमा अस्पतालले ४४ प्रतिशत अंक पाएको थियो ।
अस्पतालबाट प्रदान हुने स्वास्थ्य सेवा, सरसफाइ, वहिर· सेवा, इमर्जेन्सी सेवा, प्रयोगशाला, फार्मेसी, व्यवस्थापन लगायतका विषयलाई मुख्य आधार मानेर न्यूनतम सेवा मापदण्ड र सम्पादनका आधारमा अस्पतालले यस वर्ष कुल ६४ अड्ढ प्राप्त गरेको हो । लुम्बिनी प्रदेश सरकार स्वास्थ्य निर्देशनालयले मापन गरेको विभिन्न सुचकका आधारमा अस्पतालले सो अंक प्राप्त गरेको हो । पाल्पा अस्पतालको आयोजनामा बुधबार तानसेनमा भएको न्युनतम सेवा मापदण्ड कार्यान्वयन कार्यक्रम अन्तर्गत पाल्पा अस्पतालको अनुगमन मूल्याङ्कन तथा समिक्षा कार्यक्रममा  प्रदेश  स्वास्थ्य निर्देशनालयका डा. अक्षुत  शर्मा न्यौपानेले उक्त तथ्याड्ढ प्रस्तुत गरेका थिए । उनले गत वर्षका केही सीमाहरुलाई फलो गरेका कारण १० प्रतिशत  अंक सुधार भएको बताए ।  न्यौपानेले नतिजामा सुधार देखिए पनि अझै धेरै काम गर्न  बाँकी रहेको उल्लेख गरे ।  उनले  अस्पतालको आफ्नै अप्रेसन मेसिन हुनुपर्ने, इलेक्ट्रोनिक हाजिरी राख्नुपर्ने, नागरिक बडापत्र स्पष्ट देखिने गरी राख्नुपर्ने, कामको डकुमेसन गर्नुपर्ने, स्वास्थ्यका सूचकमा  रहेर काम गर्नुपर्ने, सामाजिक परीक्षण गर्नुपर्ने, फिजियो थेरापीको सेवा विस्तार लगायतका विषयहरुका ध्यान दिनुपर्ने बताए ।  कार्यक्रममा प्रमुख अतिथि  लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेम सारुले विगतका वर्षमा भन्दा पाल्पा अस्पतालको सेवामा सुधार हुँदै गएको बताए । उनले आगामी दिनमा अझै अस्पतालको सेवालाई थप गुणस्तर र सहज बनाउँदै  लैजान अस्पतालाई आग्रह गरे । मन्त्री सारुले स्वास्थ्यका मापदण्डहरुलाई पालना गरेर काम गर्न सके स्वास्थ्यमा व्यापक सुधार गर्न सकिने बताए । उनले सेवाग्राहीहरुलाई मुस्कानसहितको सेवा प्रवाह गर्न अस्पतालाका स्वास्थ्यकर्मीहरुलाई निर्देशन समेत दिए । मन्त्री सारुले भने ‘ अस्पताल आउने विरामीहरुलाई मुसुक्क हाँसेर सेवा दिनुहोस्, त्यसले अस्पतालप्रति विश्वास जागेर आउन्छ ।’ उनले अवाञ्छित कार्य गर्ने जो कोही कर्मचारीलाई  तत्काल कारवाही गरिने समेत बताए । मन्त्री सारुले अस्पतालको जग्गा विवादको विषय छिट्टै मिल्ने भन्दै त्यसका लागि आफु प्रतिवद्ध भएर लागेको उल्लेख गरे । मन्त्री सारुले अस्पतालको ओटीको लागि प्रदेश सरकारबाट ५० लाख बजेट विनियोजन गरेको  समेत बताए । प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले अस्पताल भवनको जग्गा व्यवस्थापनमा आफु गम्भीर भएर लाग्ने बताए । कार्यक्रममा पूर्व सांसद यादवबहादुर रायमाझी, नेकपा एमालेका जिल्ला अध्यक्ष ओमबहादुर घर्ती,  नेपाली काँग्रेसका प्रतिनिधि तथा  युवा नेता सुरेश बोहोरा,नेकपा नेकपा माओवादीका जिल्ला अध्यक्ष राजेन्द्र विक, राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक जिल्ला सभापति सुमन गैरे, राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष डुलबहादुर कुंवर, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष विशाल दर्लामी, रेडक्रस पाल्पाका सभापति बाबुराम कार्की, पत्रकार  महासंघ पाल्पाका अध्यक्ष रेखीराम राना लगायतले अस्पतालको सेवालाई थप चुस्त र प्रभावकारी बनाएर लैजानुपर्नेमा जोड दिए । उनीहरुले स्वास्थ्य संवेदनशील विषय भएकाले अस्पतालको विकासमा आफुहरुको सहयोग सधैव रहने बताए ।

अस्पताल विकास समितिका अध्यक्ष गुराँस आत्रेयले मूल्याङ्कनमा आफुहरु  कमजोर भए पनि मानविय र सेवा प्रवाहमा उत्तम बन्न स्वास्थ्यकर्मीहरुलाई आग्रह गरे । आफ्नो जिम्मेवारी जे हो त्यही गरेमा अवश्य सफलता प्राप्त हुने उनको भनाई छ । अध्यक्ष आत्रेयले छिट्टै भवन निर्माणका लागि जग्गाको व्यवस्थापन  गर्ने गरी आफुहरुले काम गरेको  बताए । कार्यक्रममा अस्पतालकी निमित्त मेसु डा. लोकरन्त ज्ञवालीले अस्पतालले गरेका गतिविधि र भावी योजना प्रस्तुत गरेकी थिइन । अस्पतालमा कार्यरत डाक्टर, स्वास्थ्यकर्मी, कर्मचारी, व्यवस्थापन समिति र सरोकारवाला निकायको महत्वपूर्ण भूमिकाका कारण विगतमा भन्दा केही सुधारको  नतिजा आएको उनले बताईन् । ज्ञवालीले अस्पतालले दिने सेवामा कुनै कमी हुन नदिन अस्पतालमा कार्यरत सम्पूर्ण टिम नै निरन्तर लागिरहेको बताइन् । स्वास्थ्य निर्देशनालयको एमएसएस फोकल पर्सन अस्मिता नेपालले एमएसएस सम्बन्धी जानकारी गराएकी थिइन् । अस्पताल विकास समितिका अध्यक्ष आत्रेयको अध्यक्षता, नर्स विभाग प्रमुख लक्ष्मी जिसीको सञ्चालनमा कार्यक्रम भएको थियो ।  

प्रकाशित मिति: बुधबार, मंसिर १२, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update