पाल्पा(रामपुर), जिल्लाको रामपुरमा डेंगी रोगसम्बन्धी सचेतनाका कार्यक्रम गरिएको छ । साविकको रामपुर गाविसका महिला स्वयंमसेविकाहरुलाई डेंगी रोग रोकथाम सम्बन्धी सचेतना प्रदान गरिएको हो ।
नेपाल रेडक्रस सोसाईटी उपशाखा रामपुरको आयोजनामा एक दिने डेंगी रोग संक्रमण तथा रोकथाम सम्बन्धी सचेतनासँगै खोज र नष्ट गर अभियान कार्यक्रम गरिएको जनाइएको छ । महिला स्वयंमसेविकाहरुलाई रोगबारे जानकारी गराए घर परिवार र गाउँमा समेत चाँडो जानकारी प्रवाह हुने भन्दै उनीहरुलाई डेंगीबारे जानकारी र बच्ने उपायहरुबारे सिकाइएको हो । कार्यक्रममा रामपुर नगरपालिकाका उपप्रमुख बाल कुमारी थापाले पछिल्लो केही वर्ष यता डेंगी रोगको संक्रमण बढ्दो अवस्थामा रहेकाले यसको नियन्त्रणका लागि सबै सचेत हुन आवश्यक रहेको बताइन् । सामान्य हेलचक्याईका कारण डेंगीको संक्रमण बढ्ने र ज्यानै समेत लिन सक्ने भएकाले सचेतना अपनाउनु पर्ने धारणा व्यक्त गरिन् । छिटो र सरल तरिकाले प्रत्येकको घर–घरमा डेंगी सम्बन्धी सचेतना फैलाउन महिला स्वयमसेविकाको महत्वपूर्ण भूमिका हुने उपप्रमुख थापाको भनाई छ ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी पाल्पाका पूर्व सभापति देवराज ढकालले हरेक नागरिकका घरको डाक्टर महिला स्वास्थ्य स्वयमसेविका भएकाले डेंगीको नियन्त्रण र मानिसको ज्यान जाने जोखिमबाट बचाउन लामखुट्टेको बासस्थान नष्ट गर्न सचेत गराउनु पर्ने बताए । कार्यक्रममा रामपुर अस्पतालका डाक्टर सुनिल कुमार दासले डेंगी लाग्न नदिन लामखुट्टेको टोकाईबाट बच्नुको विकल्प नभएको बताए । एडिस एजिष्टाई जातको पोथी लामखुट्टेको टोकाईबाट सर्ने सरुवा रोग डेंगी भएकाले घर आगन, छरछिमेक, विद्यालयहरुमा पानी जम्ने खाल्डा खुल्डी पुर्ने, फुलदानीको पानी हप्तै पिच्छे बदल्ने, पानी जम्न नदिने जस्ता कुराहरुमा ध्यान दिनु यसबाट बच्ने उपाय भएको उनको भनाई छ । कार्यक्रममा डेंगीको संक्रमण ,यसको प्रभाव,नियन्त्रण तथा बच्ने उपाय लगाएतका विषयमा सहजिकरण गरिएको थियो । रेडक्रस रामपुरका सभापति मनोरथ भट्टराईको अध्यक्षता, रेडक्रस जिल्ला शाखाका उपमन्त्री कमलराज भट्टराईको स्वागत, उपशाखा रामपुरका कोषाध्यक्ष दुर्गा प्रसाद भट्टराईको धन्यवाद ज्ञापन र सचिव तिलबहादुर श्रेष्ठको सञ्चालनमा कार्यक्रम भएको थियो ।