Shittalpati
रामपुरमा जेसिसको सम्भाव्यता अध्ययन गर्दै पाल्पा जेसिज 

पाल्पा, पाल्पा जेसिजले रामपुरमा  जेसीसको सम्भाव्यता अध्ययन थालेको छ । उसले रामपुर जेसिसको आवश्यकता र सम्भाव्यताको लागि रामपुर पुगेर अध्ययन थालेको हो ।

जेसिजले रामपुरमा स्थापना हुन लागेको रामपुर जेसिसको आवश्यकता र सम्भाव्यताका लागि सरोकारवालाहरुसँग छलफल तथा अन्तक्र्रिया गरिएको जेसिजले जनाएको छ । छलफल तथा अन्तक्र्रियामा सहभागीहरुले अहिलेको अवस्थामा जेसिजको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरेका छन् । कार्यक्रममा रामपुर नगरपालिकाका उपप्रमुख बाल कुमारी थापाले समग्र समाजको सकारात्मक विकास र युवाहरुको नेतृत्व विकासका लागि जेसिस महत्वपूर्ण प्लेटफर्म रहेको बताईन् । व्यक्तिगत विकास मात्र नभई समग्र समाजको विकासमा लाग्न जेसिज माध्यम बन्न सक्ने उनको भनाई थियो । उपप्रमुख थापाले जेसिसको माध्यमबाट नगरको समृद्धिमा लाग्नु पर्ने भन्दै जेसिजको महत्व बुझेर लाग्न युवाहरुलाई अनुरोध समेत गरिन् । हरेक तहका सरकारको सुशासनका लागि सकारात्मक रुपमा खबरदारी गर्नु पर्ने जिम्मेवारी युवाहरुको रहेको भन्दै समुन्नत र अनुशासित समाजको आवश्यकता रहेको उनले औँल्याइन् । रामपुरमा स्थापना हुन लागेको रामपुर जेसिससँग सहकार्य गरेर नगरको विकासमा लाग्ने बताउँदै थापाले स्थानीय सरकार अविभावकको रुपमा रहने प्रतिवद्धता समेत व्यक्त गरिन् । नेपाल जेसिसका राष्ट्रिय उपाध्यक्ष  गणेश सापकोटाले युवाहरुको नेतृत्व र व्यक्तित्व विकाससँगै स्थान र युवाले गरेका गतिविधिलाई चिनाउन जेसिसले महत्वपूर्ण भूमिका खेल्ने बताए । युवाहरुलाई उद्यमी र व्यवसायी बन्न सिकाई समाजको विकाससँगै नेतृत्व गर्न जेसिसले सिकाउने भएकाले जेसिस स्थापना गर्नु पर्ने आवश्यकता रहेको उनले उल्लेख गरे । सापकोटोले प्रस्तावित रामपुर जेसिसलाई चाँडै नै रामपुर जेसिस बनाउने बताए । कार्यक्रममा नेपाली काँग्रेस रामपुरका उपसभापति ज्ञान प्रसाद भण्डारीले  जेसिस समाजको नेतृत्वसँगै विकासको संवाहक बन्नु पर्ने बताए । वडा नं. ६ का वडा अध्यक्ष दिवाकर देवकोटाले समय र उमेरसँगै हरेक युवाहरुको मस्तिष्कको विकास हुन जरुरी रहेको भन्दै समय सापेक्ष विकासमा लाग्न अनुरोध गरे । कार्यक्रममा वडा नं.५ का वडा अध्यक्ष दुर्गा प्रसाद पोखरेलले पछिल्लो समय युवाहरुमा नकारात्मक प्रभावसँगै हरेक क्षेत्रमा वितृष्णा पैदा भएको भन्दै सकारात्मक सोँच र प्रवृत्तिको विकासका लागि जेसिसले भूमिका खेल्न आवश्यक रहेको रुऔँल्याए । यस्तै गल्याङ जेसिस वर्ष २०२४ का अध्यक्ष खगेन्द्र भण्डारीले सम्भावित रामपुरलाई जेसिसको स्विकृति प्रदान गर्न आवश्यक रहेको भन्दै रामपुर जेसिसका अध्यक्ष शंकर बहादुर खाँणलाई जेसिसको पिन हस्तान्तरण गरे । 

पाल्पा जेसिस वर्ष २०२४ का अध्यक्ष अर्जुन कार्कीले  व्यक्तित्व, नेतृत्व र उद्यमशिलताको विकासका लागि जेसिस महत्वपूर्ण संस्था रहेको बताए । कार्यक्रममा सहभागीलाई स्वागत गर्दै सम्भावित रामपुर जेसीसका अध्यक्ष शंकर बहादुर खाँणले सुशासन र समुन्नत रामपुर बनाउने अभियानका लागि जेसिस स्थापना गर्न लागिएको बताए । पाल्पा जेसिस वर्ष २०२४ का अध्यक्ष अर्जुन कार्कीको अध्यक्षता, प्रस्तावित रामपुर जेसिसका अध्यक्ष शंकर बहादुर खाँणको स्वागत, महासचिव सुमन पछाईको सञ्चालनमा कार्यक्रम भएको हो ।

 

प्रकाशित मिति: बिहीबार, मंसिर १३, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update