पाल्पा, जिल्लाको रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले शान्त र हिंसारहित समाज निर्माणका लागि सबै वर्ग सचेत हुन आवश्यक रहेको बताएका छन् । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत रामपुर नगरपालिका न्यायिक समितिले वडा नं.४ देविस्थानमा आयोजना गरेको न्यायिक समितिसँग प्रहरी साझेदारी कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख थापाले यस्तो बताएका हुन् ।
उनले समाजमा रहेका विकृति विसंगती हटाई शान्त र हिंसारहित समाज निर्माणका लागि सबै सचेत हुन आवश्यक रहेको औल्याए । नगर प्रमुख थापाले भने ‘सभ्य र सुसंस्कृत नगर निर्माणका लागि सबै सचेत हुन आवश्यक छ, पछिल्लो समय हरेक व्यक्तिमा नकारात्मक सोँच हावि भएका कारण हिंसासँगै विभिन्न नकारात्मक घटना बढ्दै गएका छन् । यसको निराकरणमा अब सबै लाग्न जरुरी छ ।’ उनले मानिसमा नैतिक ज्ञानको कमीका कारण अपराधिक क्रियाकलापसँगै हिंसाका घटना हुने बताए । उपप्रमुख तथा न्यायिक समितिका संयोजक बाल कुमारी थापाले विवाद र अपराध दुवैले समाजिक मेलमिलापलाई असर पार्ने बताइन् । उनले न्यायिक र शान्त समाज निर्माणका लागि विवाद ,अपराध र हिंसाको अन्त्य हुनु पर्ने भन्दै विवाद,अपराध र हिंसालाई कानुनी उपचारको माध्यमबाट समाधान गर्नु पर्ने धारणा व्यक्त गरिन् ।
उपप्रमुख थापाले समाजमा हुने हिंसा र अपराधलाई नलुकाउन आग्रह गर्दै विभिन्न विवादको न्यायोचित रुपमा समाधानका लागि न्यायिक समिति र आफू संधै प्रतिवद्ध भएर लागेको बताइन् रामपुर–४ का वडा अध्यक्ष राम बहादुर रानाले हिंसा र अपराध नियन्त्रणका लागि सबै लाग्नु पर्ने बताए । कार्यक्रममा ईलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक रामबहादुर नेपालीले जुनसुकै अपराध र हिंसालाई कानुनी दायरामा ल्याउन आवश्यक रहेको बताए ।
कार्यक्रममा विभिन्न अपराध,लागु औषध,सडक सुरक्षा,साईबर क्राईम,यसको कानुनी उपचार, विभिन्न हिंसा र यसको अवस्था,न्यायिक समितिको काम कर्तव्य र अधिकार लगाएतका विषयमा अभिमुखिकरण प्रदान गरिएको थियो । ईलाका प्रहरी कार्यालय रामपुरका प्रमुख रामबहादुर नेपाली,नगरपालिकाका न्यायिक समिति सचिवालय सचिव पार्वती परियार र सञ्जु परियारले कार्यक्रमको सहजिकरण गरेका थिए । उपप्रमुख तथा न्यायिक समितिका संयोजक बाल कुमारी थापाको अध्यक्षता, समितिका सदस्य खेमराज अधिकारीको स्वागत, समिति सचिवालय सचिव पार्वती परियारको सञ्चालनमा कार्यक्रम भएको थियो ।