मन्थली (रामेछाप), रामेछापमा जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुई पुरुष, दुई महिला र एक बालिका रहेका छन् । काठमाडौबाट बेतालीतर्फ आउँदै गरको ना १ ज ७१२३ नम्बरको जिप शुक्रबार दिउँसो गोकुलगङ्गा गाउँपालिका–६ फर्पुमा दुर्घटना हुँदा गोकुलगङ्गा–४ बेतालीका वडाध्यक्ष ४५ वर्षीय रामचन्द्र बस्नेतसहित पाँच जनाको मृत्यु भएको प्रहरी नायव उपरीक्षक प्रदीपकुमार सिंहले जानकारी दिए ।
दुर्घटनामा जिप चालक मन्थली नगरपालिका–१० का ३५ वर्षीय चालक हिराबहादुर कार्की, गोकुलगङ्गा–५ की ३० वर्षीया कविता कार्की र उनकी सात वर्षीया छोरी स्वस्तिका खड्काको समेत मृत्यु भएको छ । मृतक अन्य एक जनाको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते तीनैजनालाई उपचारका लागि काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ । दुर्घटनामा कास्कीको लेखनाथ नगरपालिका घर भएका ४२ वर्षीय केशव शर्मा र रामेछापको गोकुलगङ्गा–४ बेतालीकी २७ वर्षीया सरस्वती कार्की घाइते भएका छन् । अन्य एक घाइतेको नाम थर खुल्न नसकेको प्रहरीले जनाएको छ ।