काठमाडौं, एसीसी १९ वर्षमुनिको पुरुष एशिया कप क्रिकेटमा नेपाल पहिलो खेलमा श्रीलङ्कासँग ५५ रनले पराजित भएको छ । श्रीलङ्काले दिएको २ सय ३४ रनको लक्ष्य पछ्याएको नेपाल ४६ ओभर २ बलमा १ सय ७८ रनमा अलआउट भयो । नेपालका मयन यादवले सबैभन्दा धेरै ६२ रन बनाए । श्रीलङ्काका प्रभीन मनीषाले ३ विकेट लिए ।
यसअघि यूएईको शारहाजमा टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलङ्काले ५० ओभरमा सबै विकेट गुमाएर २ सय ३३ रन बनायो । श्रीलङ्काका शारुजन शानमुगनाथनले ६२ रन बनाए । नेपालका सन्तोष यादवले ४ विकेट लिए । यूएईमा शुक्रबारदेखि शुरू भएको प्रतियोगितामा आठ वटा देश सहभागी छन् । १९ वर्षमुनिको एशिया कप क्रिकेटको समूह ’ए’ मा भारत, पाकिस्तान, जापान र यूएई छन् । समूह ’बी’ मा नेपाल, श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तान छन् । नेपालले समूह चरणको दोस्रो खेलमा पर्सि आइतबार बङ्गलादेशसँग र तेस्रो तथा अन्तिम खेलमा मङ्सिर १८ गते अफगानिस्तानसँग खेल्नेछ । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।