Shittalpati
आज बाला चतुर्दशी, शिवालयहरुमा शतबीज छरिँदै

पाल्पा, आज बाला चतुर्दशी पर्व । दिवंगत परिवारका सदस्यहरूको सद्गतिको कामना गर्दै आज बिहान सदबीज छरिँदै छ । बाला चतुर्दशीका दिन देशभरका शिवालयमा दिवंगत पितृको सम्झनामा सतबीज छर्ने गरिन्छ । सदबीजमा धान, गहुँ, जौ, हलेदो, सक्खर खण्डलगायत चीजबिज छर्ने परम्परा छ ।

पितृको नाममा रातभर बत्ती बालेर जाग्राम बस्नुका साथै बिहान स्नान गरेर सदबीज छरेपछि पितृको उद्धार हुने र आफूलाई पनि फल प्राप्त हुन्छ भन्ने धार्मिक विश्वास रही आएको छ । हिन्दु संस्कृति अनुसार कुनैपनि दूर्घटना या अकाल मृत्यु भएका मानिसहरु पूर्णरुपमा स्वर्ग या नर्कमा तर्न सक्दैनन् । जीवन जिउने क्रममा उनीहरुले पूरा गर्न नसकेका विभिन्न कर्म पूरा नभएसम्म मृतात्मा बैतर्नी तर्दैनन् भन्ने मान्यता छ । यसरी अकालमा मृत्यु भएका र राम्रोसँग मृत्युकर्म गर्न नसकिएका पितृहरुको लागि सम्पन्न गर्नुपर्ने नियम पुरा गर्न नसकेमा मंसिर कृष्ण त्रयोदशीका दिन जाग्राम बसेर मृतात्माको नाममा दीप प्रज्वलन गर्नाले पितृदोषबाट मुक्ति मिल्ने विश्वास छ । यसरी शतबीज छर्नको लागि पिता/माता, पितामह(हजुरबुबा) या मातामह(हजुरआमा), सातपुस्ता भित्रका १३ दिने जोकोहीको पनि जुठो बार्ने या बराखी लाग्नेहरुको नाममा छर्ने गरिन्छ । तर, पछिल्लो समय पिता माताको नाममा मात्रै शतबीज छर्ने गरिन्छ ।
के–के छरिन्छ शतबीजमा ?
शतबीज छर्ने क्रममा विभिन्न किसिमका ७ अन्नहरुको प्रयोग गरिन्छ । यसलाई सप्ताधानयुक्त शतबीज पनि भनिन्छ । यसमा धान, गहुँ, मास, मुंगी, कागुन र सामाको बिउ आदि पर्छ । यी अन्नहरु ठाउँ अनुसार फरक पनि हुने गर्छ । जस्तो कुनै –कुनै ठाउँमा चना, तील, मकैका साथै कागती, निबुवा, बिमिरो, सुन्तला, स्याउ, उखु, अम्बा, केराको समेत प्रयोग गर्ने गरिन्छ । यो पर्व शक्तिपीठ पुग्न नसकेकाहरुले घरमै बसेर पनि मनाउने गर्छन् । यसरी विधिपूर्वक पूजा गरी रातभरी जागा बसेर पूजा गरेको सो दीपलाई दूना या टपरीमा राखेर माथिबाट ज्वाला निस्कने ठाँउ दिएर अर्को दुना, टपरी या बोहोताले छोपेर खोलामा बगाउने चलन छ । यसरी अविरल पानीको धारसँगै बत्ति बगेको खण्डमा पितृले बैतर्नी तरेको र बत्ति सहजरुपमा नबगेको खण्डमा पितृले बैतर्नी तर्न नसकेको बुझ्ने गरिन्छ । शतबीज छर्ने दिन काठमाडौको पशुपतिनाथ र यसको आसपासका किँरातेश्वर महादेव, गौरीघाट, गुहेश्वरी, आर्यघाटको तट, श्लेषमान्तक वन लगायत पूर्वी नेपालको चतरा, बराहक्षेत्र, पर्वत जिल्लाको सेतीवेणी धाम, गुल्मी शान्तिपुरको चक्रेश्वर मन्दिर, नवलपरासीको देवघाटधाम, धनुषाको क्षिरेश्वर लगायत देशभरीका शिवालय एवं त्रिवेणी धामहरुमा विशेष घुइँचो लाग्ने गर्छ ।

प्रकाशित मिति: शनिबार, मंसिर १५, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update