नेपालमा सार्वजनिक सेवा प्रवाह अझै पनि सहज बन्न सकिरहेको छैन् । सार्वजनिक सेवा सरकार र जनताबिचको सम्बन्ध सेतु मात्र नभई सरकारको प्रभावकारिता र क्षमता पहिचान गर्ने माध्यम पनि हो । यस्ता सेवा आमनागरिकको घर–दैलोसम्म पुर्याउने कार्य, प्रक्रिया र पद्धति नै सार्वजनिक सेवा प्रवाह हो । सेवा प्रवाह आमजनताको आवश्यकता र चाहनामा आधारित हुनुपर्छ । नागरिकलाई प्रभावकारी रूपमा सेवा प्रवाह गर्ने दायित्व सरकारको हो । सेवा प्रवाहको केन्द्र बिन्दुमा जनता रहनुपर्छ । प्रशासन संयन्त्रलाई सेवाप्रदायक संयन्त्र तथा सहजकर्ताका रूपमा रूपान्तरण गरी सेवा प्रवाहलाई छिटो, गुणस्तरीय, पहुँचयोग्य, जनसहभागितामूलक तथा निष्पक्ष बनाई जनसन्तुष्टि प्राप्त भएमा मात्र सार्वजनिक सेवा प्रवाहको प्रभावकारिता भएको मानिन्छ । तर नेपालको हकमा भने यसो हुुन सकिरहेको छैन ।
केही दिन यता राहदानी आवेदन प्रणालीमा भाइरस पस्यो भनिएको छ । तर राहदानी सेवामा सधैं भाइरस रहेको नेपाली जनताको भोगाइ छ । युवालाई न देशमा रोजगारी न विदेश जाने राहदानी भएको छ । राज्यका सेवा र सुविधामा भएका यस्तै झन्झटले नै देशमा वितृष्णा र नकारात्मक भावना अनि निराशा बढाएको हो । राहदानी वितरण पनि सजिलै उपलब्ध गराउनु राज्यको दायित्व हो । यो दायित्वबाट राज्य पन्छिन मिल्दैन । दैनिक तीन हजार राहदानीको मागलाई पनि थेग्न नसक्ने र त्यो पनि भाइरस लागेर सेवा अवरुद्ध हुनु विडम्बना हो । राहदानी जस्तो संवेदनशील प्रणाली किन अवरुद्ध भइरहन्छ ? हाम्रो राहदानी वितरण प्रणालीकै अवरुद्ध गराइरहने भाइरसको खोजी हुनुपर्छ । त्यसपछि मात्रै राहदानीमा भइरहने झन्झटको अन्त्य हुन्छ । यो एउटा प्रतिनिधि मूलक सेवा प्रवाह मात्र हो । यहाँ यस्तै धेरै सार्वजनिक सेवाहरु झन्झटीलो हुने गरेका छन् । सरकारी सेवा र सुविधा सहज पु¥याउने मूल दायित्व प्रशासनिक संयन्त्र हो । तर त्यसो हुन सकिरहेको छैन । सार्वजनिक सेवा प्राप्त गर्नु नागरिकको हक हो भन्ने मान्यतालाई शिरोधार्य गरी पुराना सेवा प्रवाहको शैलीमा सुुधार गर्दै नागरिक केन्द्रित सेवा प्रवाह गर्न सरकार र प्रशासन सयन्त्र कृतसंकल्प हुन जरुरी छ ।