एचआईभी वा एड्सको बारेमा जागरुकता बढाउन प्रत्येक वर्ष डिसेम्बर १ मा विश्व एड्स दिवस मनाउने गरिन्छ । सर्वप्रथम सन् १९८८ बाट मनाउन सुरु गरिएको यो दिवस त्यसयता निरन्तर विश्वव्यापी रुपमा मनाउने गरिएको छ । यस वर्षको दिवस आज नेपालसहित विश्वभर विभिन्न सचेतनाका कार्यक्रमहरु गरी मनाइँदै छ । आजको दिनलाई विश्वभरका एचआईभी संक्रमित व्यक्तिहरुलाई समर्थन जनाउँदै उनीहरुलाई बाँच्न हौसला प्रदान गर्ने तथा यस संक्रमणबाट मृत्यु भएका व्यक्तिलाई स्मरण गर्ने अवसरको रुपमा पनि लिइन्छ । एचआईभी एड्ससम्बन्धी प्रभावकारी रोकथाम, हेरचाह, सहयोग तथा उपचार सेवाको लागि विश्वव्यापी ध्यानाकर्षण गर्दै एचआईभी एड्स विरूद्ध गरिएका कार्यक्रम तथा गतिविधिहरुका बारेमा सबै ठाउँमा सूचना पु¥याउनु नै यस दिवसको मुख्य उद्देश्य रहेको छ ।
हाल विश्वभरि नै प्रमुख स्वास्थ्य समस्याका रुपमा देखिएको एचआइभी पीडितहरुको अवस्थामा विगत केही समययता क्रमिक रुपमा सुधार आइरहेको छ । तर एड्सका कयौं पक्षहरुलाई अझै पनि गहिरोरुपमा सम्बोधन गर्न सकिएको छैन । एचआइभी संक्रमणको अन्तिम अवस्थाको रुपमा लिइने एड्सलाई लिएर देखिने व्यवहार भने अझै पनि अनुकरणीय बन्न सकिरहेको छैन । यो अत्यन्त दुखको कुरा हो । नेपालमा बढी मात्रामा वयस्क जनसंख्या एचआईभीको जोखिममा छन् । असुरक्षित यौन सम्पर्क, असावधानी रुपमा सिरिञ्जको प्रयोग लगायतका कारणले एचआईभीको जोखिम बढ्दो छ । एड्सजस्तो घातक रोगप्रति देखिनुपर्ने जुन प्रकारको सचेतना हो त्यसमा भने निकै नै कमी आइरहेको प्रतित हुन्छ । नेपालमा हरेक वर्ष एड्स दिवस मनाइन्छ तर त्यो औपचारिकतामा मात्र सिमित बन्न पुगेको छ । विशेष गरी रोजगारीका लागि भारत वा तेस्रो मुलुक गएका व्यक्तिबाट यो संक्रमण फैलिने गर्दछ । जसका कारण मानिसहरूको मृत्यु अकालमै हुने गरेको छ । यसर्थ वास्तविक संक्रमितहरुको पहिचान गरी उचित व्यवस्थापन गर्न सके मात्र दिवस मनाउनुले साथर्कता प्राप्त गर्न सक्छ ।