पाल्पा, जिल्लाको रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले नगरको विकासमा जनताको सुझाव अपरिहार्य रहेको बताएका छन् । रामपुर नगरपालिकाको आयोजना र सीताकुण्ड मिडिया प्रा.लि. रामपुर पाल्पाको सहजीकरणमा भएको नगरपालिकाको प्रगति समीक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रममा उठेका प्रश्नहरुको जवाफ दिदै उनले जनताको सुझाव नगर विकासका लागि अपरिहार्य रहेको बताएका हुन् ।
नगर प्रमुख थापाले सबैको सहभागीता र सल्लाह सुझावबाट मात्रै विकासले गति लिने उल्लेख गरे । उनले भने,‘नगरको विकासमा जनताको सुझाव अपरिहार्य छ, तपाईहरुले सुझाव, सल्लाह दिनुभयो भने हामीलाई पनि काम गर्न जागर र उत्साह जागेर आउन्छ ।’ सबै नगरवासीलाई प्रमुख थापाले सुझाव र सल्लाह दिन आग्रह गरे । उनले विकासका पूर्वाधार निर्माणको काम अघि बढिरहेकाले निर्माण कार्यमा सहयोग गर्न समेत जनतालाई भनेका छन् । निर्माण सम्पन्न भएका पूर्वाधारको मर्मत सम्भारमा नगरपालिकासँगै स्थानीयको महत्वपूर्ण भूमिका हुने नगर प्रमुख थापाले उल्लेख गरे । उनले समयमै योजना निर्माणका लागि स्थानीयको साथसँगै गुणस्तरको लागि सबैले निगरानी गर्नुपर्नेमा जोड दिए । प्रमुख प्रशासकिय अधिकृत सुर्यदर्शन पण्डितले नगरपालिकामा आर्थिक वर्ष २०८१/०८२ मा चालु तर्फ ५५ करोड ६२ लाख ६९ हजार विनियोजन भएकोमा हालसम्म ११ करोड ६६ लाख १७ हजार ३४ रुपैयाँ र पुँजीगत तर्फ १८ करोड ४८ लाख ३५ हजार विनियोजन भएकोमा ५७ लाख ३४ हजार ६ सय ३० खर्च भएको बताए । उनले चालु आर्थिक वर्षमा हालसम्म नगरपालिकामा भएका कार्यक्रमहरुको प्रगति विवरण प्रस्तुत गरेका थिए । कार्यक्रममा सहभागीहरुले घर नक्सा पास, गिट्टी बालुवाको टेण्डर तथा उत्खनन्, फोहोर मैला व्यवस्थापन, नगर भित्रका मेडिकलहरुको अनुगमन प्रभावकारी हुन नसकेको, घरहरुको अभिलेखिकरण, छात्रवृति, धानबालीमा देखिएको समस्या, सार्वजनिक यातायातको भाडादर, निकासी कर, नागरिकतासहित सार्वजनिक सेवा लगायतका विषयमा जिज्ञासा राखेका थिए ।
सहभागीहरुको जिज्ञासा इलाका प्रशासन कार्यालय रामपुरका प्रमुख गणेश बहादुर कार्की, रामपुर नगरपालिकाका इन्जिनियर रञ्जन न्यौपाने, शिक्षा शाखाका प्राविधिक सहायक अनिता कुवर, कृषि शाखा प्रमुख नारायण प्रसाद गैरे लगायतले सम्बोधन गरेका थिए । नगर प्रमुख रमणबहादुर थापाको अध्यक्षता, उपप्रमुख बालकुमारी थापाको स्वागत, पत्रकार विष्णु घिमिरेको सहजीकरणमा कार्यक्रम भएको थियो । नगरपालिकाले आर्थिक वर्ष २०८१०८२ को प्रथम चौमासिक प्रगति समिक्षा सहितको सार्वजनिक सुनुवाई गरेको हो ।