पाल्पा, आज ३७ औँ विश्व एड्स दिवस । हरेक वर्ष डिसेम्बर १ का दिन यो दिवस मनाइने गरिन्छ । एड्स तथा यौन रोग सम्बन्धी चेतना र सन्देशमूलक कार्यक्रम आयोजना गरी यो दिवस मनाइँदै छ ।
सन् १९८१ मा पहिलो एचआइभी संक्रमित फेला परेका थिए ।राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका अनुसार नेपालमा सन् २०२३ मा ९१ प्रतिशत एचआइभीको सङ्क्रमण घटेको पाइएको छ । विश्व एड्स दिवसको अवसरमा जारी गरेको तथ्याड्ढमा सन् २००० को तुलनामा सन् २०२३ मा ९१ प्रतिशत एचआइभीको सङ्क्रमण घटेको पाइएको हो । सन् २०२३ मा ४ सय ५७ जना मात्र नयाँ एचआइभीका सङ्क्रमित भेटिएका छन् । सन् २००० मा पाँच हजार १०० जना नयाँ सङ्क्रमित भेटिएका थिए । सरकारले एचआइभी उपचारमा उल्लेखनीय काम गरेकाले नयाँ संक्रमति कम भइरहेको दावी गरेको छ । सन् २०२३ सम्म नेपालमा ३० हजार ३ सय व्यक्ति एचआइभी सङक्रमित रहेका छन् । विश्वमा आठ करोड ८४ लाख मानिस एचआइभी संक्रक्रमित र चार करोड २३ लाख व्यक्तिको एड्सका कारणले मृत्यु भइसकेको छ । सन् २०२३ मा विश्वमा १३ लाख मानिस एचआइभी संक्रक्रमित भएका थिए । यस्तै एचआइभीबाट मृत्यु हुनेको संख्यामा कमी आएको छ । सन् २०२३ मा २ सय ३१ जनाको संक्रमणको कारणले मृत्यु भएको छ । मानवको प्रतिरक्षा प्रणालीलाई नष्ट गर्ने जिवाणु (युमन इम्युनी डेफिसेन्सी भाइरस) कुनै माध्यमबाट शरीरमा प्रवेश गरेमा रगतमा यसको वृद्धि विकास हुनु नै एचआइभी संक्रमण हो । एचआइभीले मानव शरीरको रोगसँग लड्नसक्ने क्षमतालाई कमजोर बनाउँदै लगेपछि जुनसुकै रोगले पनि आक्रमण गरी रोगी तुल्याउन सक्ने अवस्था नै एड्स हो ।
नेपालमा एचआइभी सङ्क्रमितमध्ये उच्च जोखिममा रहेका समूहमा सुईद्वारा लागुपदार्थ प्रयोग गर्ने, यौनकर्मी, पुरुष समलिङ्गी तथा तेस्रोलिङ्गी र रोजगारीका लागि विदेसिने युवाहरू छन् । तीमध्ये सुईद्वारा लागुपदार्थ प्रयोग गर्ने र पुरुष समलिङ्गी यौनकर्मीमा सङ्क्रमण दर अरू जोखिम समूहभन्दा उच्च छ । नेपालमा एचआइभी÷एड्स सम्बन्धी लाञ्छना तथा भेदभाव कम हुँदै गइरहेको समेत सरकारको दावी छ । संक्रमितको हेरचाह र सहयोग लगायत एआरभी औषधि उपचारमा पहुँच बढ्दै गएको पनि उक्त संक्रमण नियन्त्रणमा अझै पनि ठूलो चुनौति रहेको सरकारी अधिकारीहरुले औल्याएका छन् । अझै पनि एचआइभीको अवस्था थाहा नपाएकाहरुलाई सर्वसुलभ परामर्श र परीक्षणबाट भेटाउने र सबै संक्रमितलाई बेलैमा उपचार, हेरचाह र स्याहार सेवा प्रदान गर्न आवश्यक रहेको छ ।