पाल्पा, जिल्लाको सदरमुकाम तानसेनस्थित शितलपाटी नजिकै मन्दिरको डिलैमा सुन्तला विक्री गर्नमै व्यस्त छिन् रीता घर्ती । बगनासकाली गाउँपालिका –४ खानीछापकी घर्ती दिनहुँ जसो मन्दिरको डिलमा बसेर सुन्तला विक्री गर्ने गरेको देखिन्छ । उनी तानसेनको जनता नमूूना मावि (जेभिटी) मा कक्षा १२ मा पढ्छिन् । तानसेनमै कोठा भाडामा बसेर बढ्दै आएकी घर्ती अहिले परीक्षा दिएर बसेकी छन् । उनका बुवा वैदेशीक रोजगारमा छन् ।
आमा भने गाउँमै कृषि गर्छिन् । पढ्नमा मेहनती र लगनशील रहेकी उनी आफ्नो पढाइ खर्च सुन्तला बेचेरै जुटाउँछिन् । दैनिक दिउँसो, साझाँ सडक छेउको मन्दिरको पेटीमा सुन्तला बेचेर आफूसँगै तीन बहिनीलाई समेत उनले पढाउने गरेकी छन् । घर्तीले घरमै फलेका सुन्तला सदरमुकाममा बेच्ने गरेकी छन् । घरबाट आमा बेनी घर्तीले सुन्तला टिपेर गाडीमा पठाइदिने गर्छिन् । तिनै सुन्तला लिएर रीता दिनहुँ पेटीमा बसेर बेच्ने गर्छिन् । सुन्तला बेच्नमा उनलाई बहिनीहरु इन्द्रा र रचनाले समेत सहयोग गर्दै आएका छन् । दैनिक १० देखि २० किलोसम्म सुन्तला बेच्ने गरेको रीता बताउँछिन् । उनी भन्छिन् ‘घरबाट आमाले गाडीमा सुन्तला पठाइदिनुहुन्छ, यहाँ हामीहरुले ल्याएर बेच्ने गर्छौं, सुन्तला बेचेको पैसा जम्मा गरेर घर आमालाई नै पठाइदिन्छौं, हामीलाई किताब,कापी, कलम, स्कूूल फि, कोठा भाडा र खाना खर्च आवश्यक पर्दा त्यही पैसा अड्कलेर घरबाट पठाइदिनुहुन्छ ।’ सुन्तला बेचेको पैसाले घर खर्च र पढाइ खर्च जुटेको उनको भनाई छ । विहान पढ्न जाने र पढेर आएपछि खाना खाई तीनै जना बहिनीहरु मिलेर सुन्तला लिएर दिनहुँ शितलपाटी पुग्ने गर्छन् । बाटोमा हिड्नेहरु समेत पढ्ने उमेरमा सुन्तला बेच्न राखेको देखेर द· पर्दै सोधबुझ गरी सुन्तला किनेर लैजाने गर्छन् । रीताले सुन्तला किन्न आउने ग्राहकहरुलाई मुस्कानसहित फेरी पनि आउनुहोला है भन्दै सुन्तला दिएर पठाउन्छिन् । सुन्तला किन्न पुगेका स्थानीय राजेन्द्र गोपाल सिंहले पढ्ने उमेरकी रीताले सुन्तला बेचेर बसेको देख्दा द· पर्दै भने ‘यो उमेरका नानीहरु यसरी सडकमा सामान बेचेर बस्न लजाउन्छन् तर रीता भने हाँस्दै ग्राहकलाई सुन्तला बेचेको देख्दा म अत्यन्त प्रभावित भए ।’ प्रायः स्कूल पढ्ने केटाकेटीहरु काम गर्न धक मान्छन् तर उनले पढ्दै कमाउदै गरेको देख्दा सबैले यस्तै गर्ने हो भने समाज र राष्ट्रलाई समृद्धिको दिशामा अगाडि बढाउन सकिने उनको बुझाई छ ।
सिंहले रीताबाट अरुले पनि पाठ सिक्न जरुरी रहेको बताए । रीताले प्रति किलो एक सयमा सुन्तला विक्री गर्दै आएकी छन् । उनी भन्छिन्, ‘अहिले सुन्तलाको सिजन छ, ताजा ताजा टिपेर दिँदा ग्राहकहरु खुसी भएर किन्छन् । कहिलेकाँही त दिनमै दुई हजार रुपैयाँसम्म पनि कमाइ हुन्छ ।’ आफ्नो उमेर समूहका सबै साथीहरु घुमफिर र भेटघाटमा समय विताउँदा आफुलाई पनि मन त लाग्छ तर यसरी आम्दानी गरेर पढाइ र घर खर्च जुटाउन पाउँदा भने खुसी लाग्ने रीताको भनाई छ । फुर्सदको समयलाई सदुपयोग गरेर छोराछोरीले मेहेनत गरेको देख्दा बुवा आमा समेत खुसी हुने गरेको उनको अनुभव छ । रीताले काम सानो, ठूलो भन्ने नहुने भन्दै आफुलाई काम गर्दा कुनै पनि लाज नलाग्ने बरु गर्व लाग्ने बताउँछिन् । घरमा बारीभरी सुन्तला खेती गरिएको रीताले बताइन् । अहिले बारीभरी लटरम्म फलेका सुन्तला लिन घरमै व्यापारीहरु पुग्ने गरेको उनको भनाई छ । आफ्नै घरमा उत्पादन भएको फलफूल बजारमा ल्याएर बेच्न पाउँदा खुसी लाग्ने गरेको रीताले सुनाइन् ।