आज संसारभरि अन्तर्राष्ट्रिय दासत्व उन्मूलन दिवस विभिन्न कार्यक्रम गरेर मनाइँदै छ । सन् १९४९ को डिसेम्बर २ अर्थात् आजको दिन संयुक्त राष्ट्रसंघको महासभाले व्यक्तिको आवागमन र अन्यको वेश्यावृत्ति शोषणको दमनसम्बन्धी महासन्धि पारित गरेको थियो । यौन शोषण, मानव बेचबिखन, बालश्रमको सबैभन्दा जघन्य रूप, जबरजस्ती विवाह र सशस्त्र द्वन्द्वमा प्रयोगका लागि बालबालिकालाई जबरजस्ती भर्ती गर्नेजस्ता आधुनिक दासत्व अन्त्य गर्न यो अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवस मुखरित छ । विभिन्न क्षेत्रमा हुने गरेको शोषण अन्त्यका लागि सन्देश प्रवाह गर्न संयूक्त राष्ट्रसंघको आह्वानमा हरेक वर्ष डिसेम्वर २ का दिन यो दिवस मनाउने गरिन्छ । दिवस मनाउने गरिए पनि यसले खासै सार्थकता भने पाएको देखिदैन ।
नेपालमा दास तथा दासता प्रथाहरुको अन्त्य भएपनि दासताको परिवर्तित स्वरुपले भने चुनौति दिइरहेको छ । नेपालमा श्री ३ चन्द्र शमसेर राणाले विसं १९८३ मा दास प्रथा उन्मुलनको घोषणा गरेका थिए । पुराना तरिकाका दास तथा दासताका प्रथा घटे पनि मानव तस्कर, अङ्ग तस्कर र जबरजस्ती यौन व्यवसायमा लगाइने गरेको पाइएको छ । २१ औं शताब्दीमा आइपुग्दा पनि मानिस एक अर्कोबाट दास बन्नु परेको छ । नेपालमा विगतका कानुनी मान्यता प्राप्त दासता अहिले पनि यो वा त्यो रुपमा लुकेर क्रियाशील भइरहेका मात्र छैनन् बरु आधुनिक दासताका नयाँ–नयाँ ढाँचा आइरहेका छन् । दासलाई नेपालमा कमैया, कम्हलरी, हली, हरवा, चरवाको रूपमा केही बर्षअघिसम्म सम्बोधन गरिन्थ्यो । सैद्धान्तिक रूपमा अहिले निर्मूल गरिएको निश्चितै छ । तर, व्यवहारिक रूपमा अहिलेसम्म कतिपय ठाउँमा कायमै छ । हो, नाम फेरिएको छ । व्यवहारमा केही नरमपना आएको होला । तर, प्रवृत्तिले फड्को मार्न सकिरहेको छैन । अथवा यो ब्यवहारिक रूपमा निर्मूल भएको छैन ।
शहरका होटेलहरूमा काम गर्ने मानिसलाई नाममात्रको ज्याला दिएर दिनमा पन्द्र सोह्र घण्टा कडा काममा जोताइन्छ । त्यो पनि दासता लाधेको हो । खेत बारीमा, मेलापातमा बिहान उज्यालो हुँदाबाट साँझ आँखाले देखुञ्जेलसम्म काममा जोताइएको हुन्छ । उनीहरूप्रति गरिने ब्यवहार दासलाई गर्ने प्रकारले गरिएको हुन्छ । घरेलु कामदारलाई मालिकहरूले त्यसरी नै काम लधाएका हुन्छन् । कामदार भाग्ला भनेर उसको ज्याला रोकिएको हुन्छ । यी सबै दास मालिक युगबाट विरातमा आएका अवशेषहरू हुन् । तसर्थ यस्ता दासताका अवशेषहरुलाई निरुत्साहित नगर्दासम्म हरेक वर्ष दासता उन्मूलन दिवस मनाउनुको सार्थकता रहँदैन । त्यसै सरकार र सम्बन्धित निकायले त्यसतर्फ ध्यान दिन जरुरी छ ।