Shittalpati
समृद्धि प्राप्तिको मुख्य आधार : उद्यमशिलता, रोजगारी र राष्ट्रियतामा सुधार

प्रकृतिको उपहार विश्व सामु फरक पहिचान स्थापित गर्न सफल भौगोलिक विविधताले भरिपूर्ण देश हो नेपाल । अथाह स्रोत साधनले भरिपूर्ण, जनताको दैनिकी र जीवनस्तर सुधार गर्दै आर्थिक विकास र समृद्धिको आधार तय गर्न प्रसस्त सम्भावना बोकेको देश तर उपयुक्त योजना र नीतिको अभावमा राज्यको खर्च बालुवामा पानी हाले सरी भइरहेको देखिन्छ । प्राकृतिक स्रोत साधनले भरिपूर्ण हुँदा हुँदै माल पाएर चाल नपाएको अवस्थामा सुनको कचौरामा वैदेशिक सहयोग र अनुदान थाप्दै विकास र जनताको दैनिकी सुधारको सपना बाड्न तयार नेतृत्व वर्ग रहेको देश । यहि कारण दशकौ समय बेथित हुँदै, साशन व्यवस्था र सरकारहरु परिवर्तन हुँदै गर्दा आम जनताले भने असल साशन र असल प्रणालीको अनुभुती गर्न पाएको देखिदैन् । वैदेशिक ऋण र अनुदान कहिले सम्म लिने ?, कुन–कुन क्षेत्रमा लिने भन्ने नीति बनाउन नसक्दा सार्वजनिक ऋणको अंश बढ्दै जाने तर जनताले खर्च अनुसारको अनुभुति गर्न नसकेको कुरा यथार्थ हो । उल्लेखित पृष्ठभूमिमा आवश्यकता र औचित्य विना सस्तो राजनीतिक लोकप्रियताका लागि तय हुने योजनाको अन्त्य गर्दै देश र माटो सुहाउँदो बजेट,योजना र कार्यक्रम तय गर्न सकेमा दुई अकको आर्थिक वृद्धिसँगै समृद्धि प्राप्ति हाम्रो देशका लागि धेरै टाढा देखिदैन् ।

जनताको दैनिकीमा सुधार गर्दै मुहारमा खुसी र हाँसो प्राप्तिको क्षण नै समृद्धि हो । राजतन्त्रमा राजा महेन्द्रदेखि जनताको साशन व्यवस्था गणतन्त्रसम्म आइपुग्दा राजनीतिक नेतृत्वले आर्थिक वृद्धि ,विकास र समृद्धिलाई मुख्य लक्ष्य र उद्देश्य बनाएता पनि वास्तवमा यो अवस्थाको अनुभुति गर्न जनताले पाएको देखिदैन् । जनताको साशन व्यवस्था मानिने गणतन्त्रका करीव दुई दशक अवधि बेथित हुँदै गर्दा जनतामा सकरात्मक आशा उत्पन्न गराउन नसक्नुले साशन व्यवस्था परिवर्तन हुँदैमा देश विकास र जनताको दैनिकी सुधार हुँदो रहेन्छ भन्ने कुरालाई यसले देखाउँदछ । समृद्धि प्राप्तिमा चुनौतीहरु रहेता पनि यसको आधार र सम्भावना भने उत्तिकै रहेको देखिन्छ । समानुपातिक बजेट वितरणमार्फत दुर्गम र ग्रामीण जनतालाई प्राथमिकतामा राखी उनीहरुको दैनिकीमा सुधार नहुँदासम्म समृद्धि प्राप्तिको आधार तय हुन सक्दैन् । देशमा स्थिरता, राजनीतिक नेतृत्वमा दृढ इच्छा शक्ति, जनतामा इमान्दारिता र लगनशिलता भएमा पक्कै जनताको जीवनस्तरमा सुधार गर्दै मुहारमा हाँसो र देशमा समृद्धि पक्कै प्राप्त गर्न सकिने देखिन्छ । यसो भएमा अबको दशकमा हामीले कल्पना गरेको देश निर्माण हुने देखिन्छ । यहाँ यसैसँग सम्बन्धित विविध पक्षलाई लिएर चर्चा परिचर्चा गर्ने प्रयास गरिएको छ ।

समृद्धि प्राप्तिका मुख्य आधारहरु :  विश्वमै जलस्रोतमा  दोस्रो धनी देश, आर्थिक दृष्टिकोणले ४२ हजार मेगावाट विद्युत उत्पादन गरी विश्व बजारमा निर्यात गरि धजष्तभ मयििभच कमाउने, दैनिक  औषतमा २००० को संख्यामा विदेशीयका सक्रिय जनशक्तिलाई रोकि देश विकासमा लगाउन सकिने, भौगोलिक विविधता भित्र विश्वलाई चिनाउने सगरमाथा, गौतम वुद्धको जन्मस्थल, उव्जाउयुक्त समथर भूमि,पर्यटकलाई आकर्षण गर्न सकिने धार्मिक, साँस्कृतिक,जातियता ,भाषिक, सामाजिक विविधता साथमा ऐतिहासीक कलाकृती आदि केहि पक्ष आर्थिक समृद्धि प्राप्त गरी हामीले कल्पना गरेको आगामी दशकमा विश्वकै सुन्दर र शान्त, सुखी र खुशी नागरिक बस्ने देश बनाउने आधारहरु सयौं रहेको कुरामा दुईमत नरहला । सयौं आधार मध्ये यहाँ प्रमुख तीन आधार  राष्ट्रियता,रोजगारी र उद्यमशिलतालाई प्राथमिकतामा राखी दश वर्ष भित्र हामीले परिकल्पना गरेको विकसित देशको आधार तय गर्ने प्रयास गरिएको छ ।

उद्यमशिलता :  आर्थिक विकास हुँदै आर्थिक समृद्धि प्राप्तिको सबै भन्दा भरपर्दो उपाय उद्यमशिलता हो । उद्यमशिलताले देश भित्र औद्योगिकरणको वातावरण तयार गर्दछ । यसले अन्तर्राष्ट्रिय व्यापार अनुकुलको बनाई विदेशी मुद्रा देश भित्र ल्याउन सहयोग गर्दछ ।  विकसित मानिएका देशहरुको उच्च आर्थिक वृद्धिको आधार तय पनि यसैले गर्दछ । उद्यमशिलताको वातावरण तयार गर्नका लागि लगानीकर्ता प्रोत्साहनका लागि लगानीमैत्री ऐन नियम ,सरकारी प्रक्रिया सरल, अनुकुल कर र व्यापार नीति सरकारले बनाउन जरुरी देखिन्छ । यसका साथै निम्न प्रक्रिया अबलम्वन गरेमा अबको दशकमा सुखी र खुशी नेपाली बस्ने देश बनाउन सहयोग पुग्ने देखिन्छ ।
–उद्यमशिलता अनुकुल वतावरण राज्यले तयार गर्नुपर्ने ।
–बजारीकरणको ग्यारेन्टी गर्नु पर्ने ।
–उद्यमशिलता सम्ब्न्धी तालिमको व्यवस्था गर्नुपर्ने ।
–योजना र प्याकेजको घोषणा गर्नुपर्ने ।
–ज्ञान, सीप र आवश्यक पुँजीको सहज व्यवस्था गर्ने ।
–स्थानीय परम्परागत घरेलु उद्योगलाई प्रोत्साहन गर्नुपर्ने ।
–सिर्जनशीलता र नवप्रवर्तनमा जोड दिनुपर्ने ।
–जोखिम बहन गर्ने क्षमताको विकास गर्नुपर्ने ।
–शिक्षालाई उद्यमशिलतासँग जोड्नु पर्ने ।
–राजनीतिक स्थिरता सहितको व्यवसायिक वातावरण तयार पार्नुपर्ने ।

रोजगारी :  रोजगारी एक जल्दोबल्दो बहस र छलफलको विषय बनेको छ । सडकदेखि सदनसम्म रोजगारी सिर्जना र बेरोजगारी अन्त्यको चर्को बहस सुनिन्छ तर ठोस योजनाको अभावमा बर्षेनी हजारौंको संख्यामा युवा तथा सक्रिय जनशक्ति वैदेशिक रोजगारीमा जाने प्रवृत्ति बढ्दै गएको देखिन्छ । देश भित्र सक्रिय जनशक्तिको अभाव हुँदै जानुको मुख्य कारणको रुपमा पनि यसैलाई नै लिन सकिन्छ । अबको दशक भित्र आर्थिक समृद्धि सहितको देश निर्माणका लागि अनिवार्य शर्तको रुपमा देश भित्रै रोजगारीको खोजी गर्नु आवश्यक देखिन्छ । यसका लागि निम्न पक्षमा ध्यान दिनु पर्ने देखिन्छ ।
–शिक्षालाई सिप र रोजगारीसँग जोड्नु पर्ने ।
–लगानी मैत्री बातावरणको सिर्जना गर्नु पर्ने ।
–जीवन उपयोगी शिक्षा प्रणाली लागु गर्नु पर्ने ।
–स्रोत साधन परिचालनको ठोस नीति बनाउनु पर्ने ।
–वैदेशिक रोजगारीलाई व्यवस्थित गर्नु पर्ने ।
–सीपयुक्त र दक्ष श्रमिक वैदेशिक रोजगारीमा पठाउने योजना बनाउनु पर्ने ।
–राजनीतिक स्थिरतासँगै देशमै केहि गर्न सकिन्छ भन्ने बातावरण तयार गर्नु पर्ने ।
–औद्योगिकरणमा जोड दिनु पर्ने ।
–बन्द भएका उद्योगहरुलाई सञ्चालनमा ल्याउनु पर्ने ।
–सीप तथा तालिममा जोड दिनु पर्ने ।
–कृषि व्यवसायीकरणमा जोड दिनु पर्ने ।
–सरकारी नीति ,योजना तथा कार्यक्रमलाई रोजगारी सिर्जनासँग जोड्नु पर्ने ।
–व्यवसायिक र प्राविधिक शिक्षामा जोड दिनु पर्ने ।

राष्ट्रियता :  राष्ट्रियता विनाको राष्ट्रको कुनै अर्थ रहँदैन् । राष्ट्रियता जनतामा स्वःस्र्फुत उत्पन्न हुने भावनात्मक कुरा हो । जनता र राज्य सञ्चालक नेतृत्वकर्ता दुवैमा यो भावनाको विकास भएमा देश विकासको स्थायी आधार तय हुने देखिन्छ । तर पछिल्लो समय केहि राजनीतिक दल र तीनका नेतृत्वले आफ्नो व्यक्तिगत स्वार्थ परिपूर्ति र राजनीति लाभका लागि जातीयता, क्षेत्रीयता र धार्मिक विषयमा विवादास्पद विचार र भाषण दिने, जातजातीबिच बेमेल निम्त्याउने कार्य गर्दा बर्षौदेखि धार्मिक सहिष्णुता, जातीय एकता र क्षेत्रीय  सम्बन्धको अनुपम नमुना प्रस्तुत गरेका नागरिकबिच दरार उत्पन्न गराउने  प्रयास गरिरहेको देखिन्छ  । विभिन्न नाममा हुने विभिन्न किसिमका द्वन्द्वहरु हामीले कल्पना र निर्माण गर्न चाहेको नेपालको लागि सबै भन्दा घातक पक्ष भएकाले यसबाट जोगिनु र सचेतना जगाउनु अनिवार्य रहेको देखिन्छ । जातीय र धार्मिक द्वन्द्वका कारण खराब अवस्थामा पुगेका रुवाण्डा,नाइजेरिया, सिरिया, सुडान हाम्रा सामु जल्नत उदाहरणका रुपमा रहेका छन् । हामीलाई खोक्रो राष्ट्रियता हैन्, भाषणको राष्ट्रियता हैन् देश विकास र विश्व बजारमा फरक पहिचान स्थापित गर्न सहयोग पुग्ने राष्ट्रियताको खाँचो छ । चर्को नारामा हैन् व्यवहारमा, देखावटी हैन् मन र मस्तिष्कमा देशको माया भएको राष्ट्रियता चाहिएको छ । यसो भएमा हामीले कल्पना गरेको समृद्धि देश दश वर्ष भित्र निर्माण गर्न सकिने देखिन्छ  । यसका लागि के गर्ने त ?
–राजनीतिक नेतृत्वले आफ्नो राजनीतिक दल भन्दा माथि देश राख्नु पर्ने ।
–हरेक निर्णय र कार्य  राष्ट्रहित अनुकुल हुनुपर्ने ।
–परराष्ट्र नीति स्थिर हुनुपर्ने ।
–नेपाल भारतबीचको सिमाना व्यवस्थित र सुरक्षित हुनुपर्ने ।
–राष्ट्रहितको पक्षमा अन्तर्राष्ट्रिय उपस्थितिमा आवाज बलियो बनाउनु पर्ने ।
–पाठयक्रममा राष्ट्रियता र नैतिकता सम्बन्धी विषय समावेश गरिनुपर्ने ।
–राष्ट्रियताका लागि राजनीतिक दलहरुबिच एकता कायम हुनुपर्ने ।
–क्षेत्रीयता, जातियता र धार्मिक सहिष्णुता खलबल गराउने तत्वलाई कारवाहिको दायरामा ल्याउनु पर्ने ।
–पञ्चशिलता र असंलग्न परराष्ट्र नीतिको  पालनमा जोड दिनुपर्ने ।
–राष्ट्रिय एकताको अनुपम नमुना प्रस्तुत गर्नुपर्ने ।

निष्कर्ष : राष्ट्रियता, उद्यमशिलता र रोजगारी एक अर्काका परिपुरक जस्तै हुन् । राष्ट्रियता विना नागरिकमा उद्यमशिलताको भावना विकास गर्न सकिदैन् भने उद्यमशिलता विना देश भित्रै रोजगारीका अवसर सिर्जना गर्न सकिदैन् । रोजगारीको सिर्जना विना  युवा जनशक्तिको देश छोड्ने दरमा नियन्त्रण गर्न सकिदैन् । यि तीनै पक्षलाई एक अर्काको परिपुरक बनाई योजनावद्व कार्यक्रम तय गर्न सकेमा आगामी दशक भित्र हामीले कल्पना गरेको समृद्ध नेपालको निर्माण गर्न सकिने देखिन्छ ।
(लेखक अर्थशास्त्रका प्राध्यापक समेत हुन् ।)  

प्रकाशित मिति: सोमबार, मंसिर १७, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update