आज ३३ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस, नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । सन् १९९२ बाट हरेक वर्ष डिसेम्बर ३ तारिखमा यो दिवस मनाउने गरिएको छ । अपाङ्गता भएका व्याक्तिहरुलाई उनीहरूको हक अधिकारको सुनिश्चितता गर्न, जनमानसमा चेतना फैलाउन, उनीहरूको पहिचान, आत्मसम्मान र स्वाभिमानलाई विश्वभर उठाउन यो दिवस मनाउन थालिएको हो । विश्वभर अपाङ्गता भएका व्यक्तिहरूको अधिकार प्रवद्र्धन गर्ने उद्देश्यले सन् १९७६ मा संयुक्त राष्ट्र संघले सन् १९८१ लाई “पूर्ण सहभागिता र समता” भन्ने मूल नाराका साथ अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय वर्षको रूपमा मनाउने घोषणा गरेको थियो ।
सन् १९८३ मा राष्ट्र संघले अपाङ्गता भएका व्यक्तिहरूको अवसर समानीकरण, पुर्नस्थापना र रोकथाममा जोड दिँदै अपाङ्गता सम्बन्धी १० वर्षे विश्व कार्य योजना पारित गरी लागू गर्यो र यसलाई विश्वभर प्रभावकारी रूपमा कार्यान्वयन गराउन सन् १९८३ देखि १९९२ सम्मको अवधिलाई अन्तर्राष्ट्रिय अपाङ्गता दशकको रूपमा घोषणा गरियो । सन् १९९२ मा उक्त अपाङ्गता सम्बन्धी १० वर्षे विश्व कार्य योजनाको कार्यान्वयन र उपलब्धिहरूको समीक्षा गर्दै सोही वर्षदेखि डिसेम्बर ३ लाई अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवसको रूपमा घोषणा गरी विश्वभर मनाउन थालिएको हो । नेपालले पनि सन् १९९३ देखि हरेक वर्ष विभिन्न कार्यक्रमहरू गरी यो दिवस मनाइँदै आएको छ । तर अपाङ्गता भएका व्यक्तिका पीडा भने ज्यूँकात्यूँ छन् । अपाङ्गता भएका व्यक्तिका लागि काम गर्ने भनेर नेपालमा थुप्रै सरकारी तथा गैरसरकारी संघ संस्थाहरु सक्रिय भए पनि तिनीहरुले प्रभावकारी काम गर्न सकिरहेका छैनन् । ति संस्थाहरुले अपाङ्गता भएका व्यक्तिलाई समुदायमा पुनःस्थापना र परिचालन गर्न धेरै लगानी गरे पनि अपाङ्गगता भएका व्यक्तिको अवस्थामा भने खासै परिवर्तन आउन सकेको देखिदैन ।
गाउँसमाजमा अपाङ्ग व्यक्तिहरुको नियति भने बिल्कुलै फरक छ । उनीहरुलाई अझै पनि पारिवारिक बोझका रुपमा तिरस्कार गरिएका र दाम्लो/सिक्रीले बाँधेर पशुवत् व्यवहार गरिएका उदाहरणहरु प्रशस्तै भेटिन्छन् । अपाङ्गतासम्बन्धी जेजति गतिविधि भइरहेका छन्, त्यो पर्याप्त छैन । यसर्थ समाजमा अपाङ्गता भएका व्यक्तिहरुले भोग्नुपरेका यावत् समस्या सम्बोधन नहुँदासम्म यो दिवस मनाउनुले सार्थकता प्राप्त गर्न सक्दैन ।