Shittalpati
आज अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइँदै

पाल्पा, आज ३ डिसेम्बर अर्थात् ३३ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस । नेपालसहित विश्वभर  विभिन्न कार्यक्रमहरुको आयोजना गर्दै यो दिवश मनाइँदैछ । संयुक्त राष्ट्रसंघको पहलमा विश्वभर हरेक डिसेम्बर ३ मा अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइन्छ । सन् १९९२ देखि अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाउन थालिएको हो भने नेपालमा भने सन् १९९३ देखि यो दिवश मनाउन थालिएको हो ।

संयुक्त राष्ट्र संघले अपाङ्गता भएका व्यक्तिहरुको हक, हित र अधिकार प्राप्तिका लागि अन्तर्राष्ट्रिय रुपमै अपाङ्ग दिवस मनाउँदै आइरहेको छ । नेपालमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र राष्ट्रिय अपाङ्ग महासंघले आज विभिन्न कार्यक्रम गर्दैछन् । ‘समावेशी तथा दिगो भविष्यको पूर्वाधार, अपाङ्गता भएका व्यक्तिहरुको प्रवल नेतृत्व यसको आधार’ भन्ने राष्ट्रिय नाराका साथ कार्यक्रम गरिदैं छ । अपाङ्गता भएका व्यक्तिहरुले गरेको सकारात्मक र उपलब्धिमूलक कथाहरुलाई पनि आज विश्व समूदायले विभिन्न माध्यम मार्फत् अवलोकन र श्रवण गर्ने गर्दछन् भने अर्कोतर्फ अपाङ्गमैत्री समाज अनि संरचनाका लागि पैरवी पनि गरिन्छ । हरेक सरकार अनि संगठनहरुले अपाङ्गता भएकाहरूलाई प्राथमिकतामा राख्ने अनि समान वातावरण दिने प्रतिवद्धता राखेका हुन्छन् र आज त्यो वाचा गरेका कुराहरू उपलब्धिका रूपमा कति प्राप्त भए वा भएनन् भन्ने समिक्षा पनि आजको दिन गर्ने गरिन्छ । समावेशी र समान समाजको परिकल्पना नै आजको टड्कारो आवश्यक्ता हो । नेपाल सरकार लगायत विभिन्न सरकारी र गैर सरकारी संस्थाहरुले अपा·ताका लागि धेरै परियोजना कानुनतः पैरवीहरु गरिरहेका छन् ।

प्रत्येक वर्ष अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइँदै आए पनि अपा·ता भएका व्यक्तिहरूका समस्या भने ज्युँका त्युँ छन् । दिवसले आफूहरूको पीडामा मलहम लगाउन नसकेको उनीहरूको गुनासो छ । अपाङ्गता भएका व्यक्तिले भोगिरहेका भौतिक, दृष्टिकोणजन्य, कानुनी र सुधारमा रहेका अवरोधलाई न्यूनीकरण गर्दै सबै प्रकारका अपाङ्गता भएका व्यक्तिका लागि राज्यको सेवा सुविधामा सरल र सहज पहुँचयुक्त वातावरण निर्माण गर्नु आजको आवश्यकता रहेको सरोकारावालाहरुले बताउने गरेका छन् ।

प्रकाशित मिति: मंगलबार, मंसिर १८, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update