Shittalpati
मानसिक समस्याको उपचार ध्यान : प्रदेश सांसद श्रेष्ठ

पाल्पा, लुम्बिनी प्रदेशका सांसद एंव अर्थ उद्योग तथा पर्यटन विकास समितिका संयोजक राजु प्रसाद श्रेष्ठले मानसिक समस्याको उपचार ध्यान भएको बताएको छन् । रामपुर नगरपालिकाको आयोजनामा भएको सकारात्मक सोँच र स्वस्थ जीवनका लागि जीवन र जगत सम्बन्धी २ दिने मेडिटेशन मोटिभेशन कार्यक्रमलाई सम्बोधन गर्दै सांसद श्रेष्ठले यस्तो बताएका हुन् ।

उनले मानसिक समस्या र सकारात्मक सोँचको कमीका कारण हरेक क्षेत्रमा वितृष्णा पैदा भई रहेको भन्दै नेपालको परिवेशमा आध्यात्मिक ज्ञान महत्वपूर्ण रहेको उल्लेख गरे । उनले मानसिक समस्याको उपचार विधि नै ध्यान र धैर्यता रहेको बताए । सांसद श्रेष्ठले २ दिनको अवधिमा जीवन परिवर्तनका लागि सिकेका कुरालाई व्यवहारमा उतार्न सके त्यसले स्वतः परिणाम दिने भन्दै जीवन र समाज सुधारसँगै परिवर्तनका लागि आफैबाट शुरुवात गर्न आग्रह गरे । रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले साधनाको माध्यमबाट मानिसको जीवन पद्धतिलाई परिवर्तन गर्न सकिने बताए । सकारात्मक उर्जा प्राप्तिका लागि आध्यात्मिक ज्ञानको आवश्यकता रहेको उनले औल्याए । आध्यात्मको माध्यमबाट स्वयंम आफैलाई सुधार्न सके शान्त र समुन्नत समाज निर्माण हुने  थापाको भनाई छ । अरुलाई दोष दिएर समाजमा विकृति, विसंगति पैलिएको भन्दै यसका लागि सबै व्यक्ति सुध्रिनु पर्नेमा उनले जोड दिए । नगर प्रमुख थापाले २ दिनको अवधिमा सिकेका कुरालाई दैनिक जीवनमा प्रयोग गर्दै सकारात्मक सोँचका साथ अगाडि बढ्न र आफुले जानेका ज्ञानलाई बाँड्न अनुरोध गरे ।

उपप्रमुख बालकुमारी थापाले अहिले समाजमा वितृष्णासँगै विकृति विसंगती बढेको भन्दै यसको निराकरणका लागि आध्यात्मिक ज्ञानको आवश्यकता रहेको औँलयाइन् । उनले आध्यात्मिक ज्ञानले मानिसको विचारसँगै जीवन परिवर्तन गर्ने धारणा व्यक्त गरिन् । कार्यक्रममा आचार्य श्री महेन्द्र बशिष्टले जीवन र जगतको बारेमा, आचार्य विवेकले बुद्ध र बुद्धत्व र सुनिता पाण्डेले खानपान र जीवन शैलीको बारेमा ज्ञान प्रदान गरेको योजना शाखा प्रमुख विक्रम   बस्नेतले बताए ।

प्रकाशित मिति: मंगलबार, मंसिर १८, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update