Shittalpati
दासप्रथा : कागजमा मुक्त, व्यवहारमा कायमै

पाल्पा, नेपालमा वि.सं. १९८३ मा दास प्रथा उन्मूलनको घोषणा भए पनि विभिन्न स्वरूपमा दासता प्रथा अझै कायमै छ । दासदासी, कमाराकमारी मात्रै होइन, हरूवा, चरुवा, हलिया र कमैया राख्ने सामन्ती प्रथाकै विरुद्ध लोकतान्त्रिक आन्दोलन भएको थियो । तर, मुलुकमा दासप्रथाको अवशेष अझै छ । विभिन्न अवतारमा दासप्रथा जीवित छ । धनीमानी मानिसहरू घरमा काम गर्ने घरेलु कामदार राख्छन्, अनि दासप्रथाकै झझल्को दिने व्यवहार गर्छन् । कलकारखाना र उद्योगधन्दामा अझै पनि बालश्रमिक भेटिएका उदाहरण बेलाबेला सार्वजनिक हुन्छ ।

विभिन्न अन्तर्राष्ट्रिय अध्ययन प्रतिवेदन र संस्थागत प्रतिवेदनका अनुसार नेपालमा करिब एक प्रतिशत मानिस अझै आधुनिक दासत्वको पीडा भोगिरहेका छन् । यसले प्रत्यक्ष रूपमा ७० हजार परिवारलाई मर्कामा परेका छन् । नेपाल केन्द्रीय तथ्याङ्क विभागको २०२१ को राष्ट्रिय तथ्याङ्कलाई आधार मानेर नेपालमा पाँचदेखि १७ वर्ष उमेर समूहका ७० लाख बालबालिकामध्ये ११ लाख (१५.३%) बालबालिका बालश्रमको सिकार छन् । सार्वजनिक यातायात, चमेना गृह, खाजा पसल, इँटा भट्टा, घरेलु र प्याकेजिङ क्षेत्रको काममा बालश्रमिकमाथि ज्यादतीपूर्ण घटना भइरहेका छन् ।

यस्तै, २०७० साल असार १३ गते सरकारले देशलाई कम्लरी मुक्तिको घोषणा गर्‍यो तर पनि मुक्तकम्लरीले दासत्वबाट मुक्ति पाएको अनुभूति गर्न नसकेको जानकारहरू बताउँछन् । देशभर १२ हजार सात सय ६९ पूर्वकम्लरी छन् । हालसम्म पनि सरकारले उनीहरूको उचित पुनःस्थापना गर्न सकेको  छैन् ।

राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन २०७९ अनुसार मानव बेचबिखनलाई आधुनिक युगको दास प्रथाको रूपमा स्वीकार गरिएको छ । अन्तर्राष्ट्रिय श्रम संगठन र वाक फ्रि फाउण्डेसनले अन्तर्राष्ट्रिय आप्रवासन संगठनसँगको सहकार्यमा सन् २०१७ मा गरेको अध्ययनमा विश्वमा चार करोड मानिस आधुनिक दास प्रथाको शिकार भएका छन् । प्रतिवेदनले विश्वका प्रत्येक एक हजार व्यक्तिमा चार दशमलव पाँच जना आधुनिक दासतामा बाँच्न बाध्य छन् । यस्ता व्यक्तिमध्ये पाँच दशमलव नौ वयस्क र चार दशमलव चार बालबालिका आधुनिक दासताको शिकार भएका छन् । कुल पीडितमध्ये ७१ प्रतिशत महिला तथा बालिका रहेको जनाइएको छ । यसले मानव बेखबिखनमा सबैभन्दा प्रभावित महिला तथा बालिका भएको पुष्टि गर्दछ ।

नेपालमा सबै प्रकारका दासप्रथामा आधारित क्रियाकलाप वर्जित छन् । तर पनि विभिन्न स्वरूपका अवशेष अझै कायमै रहेको मानवअधिकारकर्मी केदार गौतम बताउँछन् । उनी  भन्छन् ‘काजगमा मुक्त भए पनि व्यवहारमा अझै कायमै छ । हाम्रो देशमा दासत्व हटेको छैन, बरु नयाँ नयाँ स्वरुपका दासप्रथा थपिएका छन् ।’ मुलुकमा दास प्रथा उन्मूलनको  घोषणा गरिए पनि पुनःस्थापनाका काम अगाडि बढेका छैनन् । सदियौँदेखि दासत्वको पीडामा आम नागरिक पिल्सिनु परेको छ ।

 

प्रकाशित मिति: मंगलबार, मंसिर १८, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update