Shittalpati
पाल्पामा दुई पालिकाको आयोजनामा सुन्तला महोत्सव हुँदै

पाल्पा, पाल्पामा दुई पालिकाको आयोजनामा सुन्तला महोत्सव हुन लागेको छ । पश्चिम पाल्पाका रैनादेवी छहरा र रिब्दीकोट गाउँपालिकाको संयुक्त आयोजनामा मंसिर २२ र २३ गते महोत्सव  हुन लागेको हो ।

बुधबार तानसेनमा पत्रकार सम्मेलन गरी महोत्सवका बारेमा जानकारी गराइएको छ । सुन्तला पकेट क्षेत्रका किसानलाई सुन्तलाको बजार प्रवर्द्धनमा सहयोग गर्ने सोंचका साथ महोत्सव आयोजना गर्न लागिएको महोत्सव आयोजक समितिका संयोजक दानबहादुर कुवरले बताए । उनले महोत्सवले सुन्तला कृषकबाट उत्पादित सुन्तलाको प्रवर्द्धनमा सहयोग गर्ने विश्वासका साथ दुबै पालिकाबाट पाँच/पाँच लाख बजेट विनियोजन गरी  दश लाखको लागतमा  महोत्सव गर्न थालिएको महोत्सव मुल समारोह समितिका अध्यक्ष  एवं रैनादेवी छहराका अध्यक्ष रुक्मागत भट्टराईले बताए । सह–संयोजक रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायणबहादुर कार्कीले महोत्सवले सुन्तलाको उत्पादन, बजार प्रवर्द्धन, सुन्तलाबाट बन्ने परिकारका साथै बगैँचा व्यवस्थापनमा समेत सिप र ज्ञानको विकास हुने धारणा व्यक्त गरे ।

महोत्सव रैनादेवी छहरा गाउँपालिका –५ कनौजेपानी खेल मैदानमा आयोजना हुने छ । कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंक खनालले महोत्सव सफलताको शुभकामना व्यक्त गरे । कार्यक्रम रिब्दीकोट गाउँपालिकाका प्रमुख प्रशासिकय अधिकृत लेखनाथ पोख्रेलको सञ्चालनमा भएको थियो ।

 

प्रकाशित मिति: बुधबार, मंसिर १९, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update