Shittalpati
रामपुरमा जनप्रतिनिधिसँग संवाद

पाल्पा, जिल्लाको रामपुर नगरपालिका– १ मा जनप्रतिनिधिसँग संवाद कार्यक्रम भएको छ । नगरपालिकाको आयोजनामा उक्त कार्यक्रम भएको हो ।

कार्यक्रममा नगर प्रमुख रमणबहादुर थापाले जनता र जनप्रतिनिधिबिचको सम्बन्धलाई थप सुुमधुर बनाउने र विकास निर्माणका काममा सहजता प्रदान गर्न जनप्रतिनिधिसँग संवाद कार्यक्रम गरिएको बताए । नगरका जनताको सुविधाका लागि सिमित स्रोत र साधनकाबिच अनेकन आवश्यकता र मागलाई पुरा गर्न स्थानीय सरकार प्रतिवद्ध भएर लागेको उनले उल्लेख गरे । प्रमुख थापाले जनताका आवश्यकता र वस्तुस्थितिलाई अझ नजिकबाट नियालेर जनताको गुनासो र सुझाव लिनका लागि जनप्रतिनिधिसँंग संवाद कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

उपप्रमुख बालकुमारी थापाले नगरवासीको वास्तविक आवश्यकता र समस्याको पहिचानसँगै समाधानका लागि प्रतिवद्ध भएर लागेको बताउँदै यो कार्यक्रमले जनता र जनप्रतिनिधिबिचको दुरीलाई अझ बढी घटाउने बताइन् ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सुर्य दर्शन पण्डितले नगरपालिकाबाट प्रवाह हुने सेवालाई थप प्रभावकारी र जनमुखी बनाउनका लागि नगरपालिकाले सबै वडामा जनप्रतिनिध संवाद कार्यक्रम सञ्चालन गरिने  बताए । नगर प्रवक्ता एवं १ का वडा अध्यक्ष कपिलबहादुर खाँणले वडाको विकास निर्माणको अवस्था , वडामा रहेका समस्याको पहिचान गर्न र सुझाव लिई आगामी आर्थिक वर्षमा योजना बनाउन सघाउ पुगोस् भन्ने हेतुले यो कार्यक्रमको अवधारणा तयार पारिएको उल्लेख गरे ।

कार्यक्रममा सहभागिहरुले योजना सम्झौता,टोल विकास संस्था दर्ता र सञ्चालनका लागि आवश्यक बजेट माग,विद्यालयका शिक्षक दरबन्दी ,भौतिक संरचनाको मर्मत संभार, कालिगण्डकी करिडोर सडक सुरक्षा,अपराधिक क्रियाकलाप नियन्त्रणका लागि पहल गर्न, सवारी साधन भाडादर कार्यान्वयनका लागि कडाई गर्नु पर्ने ,विकास निर्माणका योजना सञ्चालन गर्दा जोखिमको मूल्याङ्कन गरेर सञ्चालन गर्नु पर्ने लगाएतका सुझाव राखेका थिए । योजना शाखा प्रमुख विक्रम बस्नेतको सञ्चालनमा कार्यक्रम भएको थियो ।

सोही कार्यक्रमका अवसरमा विभिन्न विपद्मा परेका नागरिकलाई आर्थिक सहयोग वितरण गरिएको थियो । घर भत्किएका, विरामी भई उपचार गर्न आर्थिक अभाव भएका ३ जनालाई राहत स्वरुप ४७ हजार रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ । वडा सचिव प्रेम पाठकले वडाको प्रगति प्रतिवेदन पेश गरेका थिए ।

 

प्रकाशित मिति: बुधबार, मंसिर १९, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update