पाल्पा,आगामी वर्षदेखि रामपुरको सीताकुण्डमा विवाह पञ्चमी उत्सवको रुपमा मनाइने भएको छ । रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले सीताकुण्डमा विवाह पञ्चमीलाई उत्सवको रुपमा मनाउने बताएका छन् । उनले विवाह पञ्चमीको अवसरमा सीताकुण्ड मन्दिर व्यवस्थापन समितिको आयोजनामा सीताकुण्डमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै नगरपालिकाले विवाह पञ्चमीलाई उत्सवको रुपमा मनाउनका लागि आगामी वर्षदेखि आवश्यक व्यवस्था गर्ने बताएका हुन् ।
आमामी वर्षदेखि विवाह पञ्चमीमा रामपुर नगरपालिका– ५ पञ्चेबाजा सहित बेहुला भएर सीताकुण्ड जाने र वडा नं ४ र ३ माईती पक्ष भएर स्वागत गर्ने परम्पराको थालनी गरिने बताउँदै नगर प्रमुख थापाले यसको व्यवस्थापन नगरपालिकाले गर्ने उल्लेख गरे । उनले सीताकुण्डको महत्व बारे सबैलाई बुझाउन आवश्यक रहेको बताए । थापाले आर्थिक विकासको लागि पर्यटनसँग जोडिनु आवश्यक रहेको बताउँदै सीताकुण्डलाई पर्यटनसँग जोड्न आवश्यक पूर्वाधार निर्माणको काम भैरहेको समेत बताए । कार्यक्रममा रामपुर नगरपालिका –५ का वडा अध्यक्ष दुर्गा प्रसाद पोखरेलले हरेक मानिसलाई धार्मिक र आध्यात्मिक ध्यानले ज्ञान प्राप्त हुने बताए । वडा नं. ४ का वडा अध्यक्ष रामबहादुर रानाले सीताकुण्डको धार्मिक ऐतिहासिक पौराणिक महत्व रहेकाले यसको संरक्षणमा सबै लाग्नु पर्नेमा जोड दिए ।
लक्ष्मी नारायण मन्दिर व्यवस्थापन समितिका अध्यक्ष बुद्धि प्रकाश रेग्मीले रामघाट र सीताकुण्ड लगायत भगवान राम र सीतासँग सम्बन्धित रामपुर क्षेत्रका धार्मिक र पर्यटकिय क्षेत्रहरुलाई एकीकृत रुपमा विकास गर्नुपर्ने बताए । उनले धार्मिक ग्रन्थहरुमा उल्लेख भएको सीताकुण्डसँग सम्बन्धित लेख संस्कृतमा र नेपालीमा लेखेर ठूलो बोर्ड सौजन्य गर्ने बताए ।
रामपुर अस्पतालका पूर्व अध्यक्ष तथा युवा सामाजसेवी रामप्रसाद ढकाल रमेशले सीताकुण्डको छुट्टै महत्व भएकाले यसको विकास लागि नगरले विशेष रुपमा हेर्नुपर्ने धारणा व्यक्त गरे । रामपुर–३ का वडा अध्यक्ष दामोदर पाठकले नगर प्रमुख थापाले सीताकुण्डको धार्मिक पर्यटन प्रवद्र्धनका लागि गरे घोषणाको स्वागत गरेका थिए । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष चुल बहादुर सेनको अध्यक्षता,सीता माध्यमिक विद्यालयका साहायक प्रध्यानाध्यापक जीवन पराजुलीको स्वागत र पत्रकार दुर्गेश मल्लको सञ्चालनमा कार्यक्रम भएको थियो ।