Shittalpati
महिला बहुुउद्देश्यीय सहकारीले मनायो २४ औं साधारण सभा

पाल्पा, जिल्लाको तानसेनमा सञ्चालित महिला बहुउद्देश्यीय सहकारी सस्था लिमिटेडले साधारण सभा मनाएको छ । सहकारीले एक औपचारिक कार्यक्रमकाबिच २४ औं साधारण सभा मनाएको हो ।

महिलाहरुको नेतृत्व विकास र आर्थिक समृद्धिको क्षेत्रमा काम गर्दै आइरहेको सहकारी संस्थाले सभामा आफुले वर्ष भरी गरेका गतिविधिसँगै आगामी कार्यक्रम तथा योजनाका विषयमा जानकारी गराएको छ । साधारण सभाको तानसेन नगरपालिका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले उद्घाटन गरेका हुन् । सभाको उद्घाटन गर्दै उनले सहकारीहरुको समस्या समाधानमा नगर सरकार कटिबद्ध रहेको बताएका छन् । उनले नगर सरकारले सहकारीहरुको विकास र विस्तारका लागि स्थानीय सहकारी सञ्जाल समेत निर्माण गरी अगाडि बढेको बताउँदै सहकारीमा देखा परेका समस्याहरुलाई सहकारीहरुसँगै सहकार्य गरी नगर सरकार अगाडि बढेको धारणा व्यक्त गरे ।  नगर प्रमुख श्रेष्ठले उद्यमी निर्माण गरी स्वरोजगार बनाउने र सहकारीका शेयर सदस्यहरुलाई सुपथ मूल्यमा दैनिक उपभोग्यवस्तु वितरण गर्ने अभियानमा नगर सरकारले सहयोग गर्ने बताए ।

कार्यक्रममा पाल्पा उद्योग वाणिज्य संघका कोषाध्यक्ष विनायक महर्जन, क्षयरोग निवारण संघ पाल्पाकी सभापति शोभा शाक्य, सहकारीका लेखा सुपरिपेक्षक समितिका संयोजक सानु थापा लगायतले  सहकारीको कार्य प्रसंशनीय रहेको भन्दै आगामी दिनमा पनि सोही अनुरुप अगाडि बढ्न संस्थालाई आग्रह गरेका छन् । कार्यक्रममा संस्थाका अध्यक्ष गीता थापाले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सहकारीको मूल्य मान्यता र सिद्धान्तलाई आत्मसाथ गर्दै सहकारी अगाडि बढेको बताइन् ।

कार्यक्रममा कोषाध्यक्ष सरला केसीले संस्थाको आर्थिक वर्ष २०८०/०८१ को  १२ करोड ६५ लाख ७४ हजार बराबरको आय–व्यय प्रस्तुत गरेकी थिईन् । कार्यक्रममा सहकारीले जेष्ठ सदस्य सारदा कर्माचार्य, दुर्गादेवी पौड्याल, रमा पन्थी, सारदा शाहीलाई सम्मान गरेको थियो । यस्तै उसले एसईईमा उत्कृष्ट अंक ल्याई उत्र्तिण हुने बाल सदस्य सुदीप कोइराला र सुप्रिम भण्डारी, दोहोरो कारोबार गर्ने सदस्यहरु मीना कुमारी शाही, भूमिश्वर घर्ती, तुलसी थापालाई समेत सम्मान गरेको छ । सहकारीले आर्थिक वर्ष २०८०/०८१ मा १० लाख ८४ हजार मुुनाफा र १ करोड २८  लाख ४२ हजार  ८ सय ९ आम्दानी गर्न सफल भएको जनाएको छ । संस्थाका अध्यक्ष गीता थापाको अध्यक्षता, सदस्य लक्ष्मी शर्माको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: आइतबार, मंसिर २३, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update