Shittalpati
भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइँदै

पाल्पा, आज भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि विविध कार्यक्रम गरि मनाइदै छ । संयुक्त राष्ट्रसंघले सन् २००३ मा भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय महासन्धि पारित गरेपछि विश्वभर डिसेम्बर ९ तारिखलाई भ्रष्टाचार विरुद्धको दिवस मनाउन थालिएको हो ।

संयुक्त राष्ट्रसंघको महासभाले आजको दिनलाई भ्रष्ट्राचार विरुद्धको दिवसका रुपमा मान्यता दिएको थियो । दिवसका अवसरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, भ्रष्टाचार विरुद्ध क्रियाशिल संस्था ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल लगायत सरोकारवाला निकायले आज विभिन्न कार्यक्रमको आयोजना गर्न लागेको जनाइएको छ । अन्तर्राष्ट्रिय संघसंस्थाले गरेको अध्ययनले पछिल्लो समय विकासोन्मुख मुलुकमा भ्रष्टाचार बढ्दै गएको देखाएको छ । पछिल्लो समय सरकारले भ्रष्टाचार हुन नदिन प्रतिबद्ध रहेको र अनियमितता तथा भ्रष्टाचारमा संलग्नप्रति कडाई गर्ने बताउदै आएपछि भ्रष्टाचारका ठूला ठूला घटना सार्वजनिक भइरहेका छन् । ट्रान्सपरेन्सी इन्टरनेश्नलले पनि नेपालमा भ्रष्टाचार बढेको अनुभव गर्नेको संख्या बढेको प्रतिवेदन सार्वजनिक गर्दै आएको छ । भ्रष्टाचार निवारणका लागि संवैधानिक निकायका रुपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग गठन भएपनि भ्रष्टाचार नियन्त्रणमा अपेक्षा अनुरुप प्रगती हुन सकेको छैन । भ्रष्टाचार एक वा एक भन्दा बढी व्यक्ति वा संस्थाका गतिविधिसँग जोडिएको विषय भएकाले यसलाई तोड्न प्रभावकारी रुपमा जनचेतना बढाउनुपर्नेमा नेपालका सम्बन्धित निकायहरुले जोड दिइएका छन् । उनीहरुले भ्रष्टाचार विरुद्ध सबै एक जुट भए भ्रष्टाचारको सञ्जाल जरैदेखि उखेल्न सक्ने भन्दै भ्रष्टाचार रोक्ने अभियानमा सहयोग गर्न सबैसँग अपिल समेत गरेका छन् ।

नेपालले सन् २०११ मा महासन्धीलाई अनुमोदन गरेको थियो । राष्ट्रसंघले भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय महासन्धी पारित गरेको दिनको सम्झनामा हरेक वर्ष डिसेम्बर ९ मा भ्रष्टाचार विरुद्धको दिवस मनाउने गरिन्छ । भ्रष्टाचारविरुद्ध आवाज बुलन्द पार्ने उद्देश्यले हरेक वर्ष दिवस मनाइए पनि भ्रष्टाचार रोकिएको छैन ।

प्रकाशित मिति: सोमबार, मंसिर २४, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update