पाल्पा, हरेक वर्ष ७ डिसेम्बरमा अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस मनाउने गरिएको छ । यस वर्षको दिवस शनिबार मनाइयो । यस दिवसलाई खासगरी उड्डयनको सुरक्षा, गुणस्तरीय सेवाको व्यवस्था लगायत विमानस्थलको सुरक्षा राख्ने उद्देश्यका रूपमा मनाउने गरिएको भए ता पनि प्रत्येक वर्ष हुने हवाइ दुर्घटनाले यस्ता दिवसले नेपाली उड्डयन क्षेत्रमा के भूमिका खेल्दै आइरहेको छ भन्ने प्रश्न जहाँको त्यहीँ नै छ । यातायातका दृष्टिले हवाई उडानलाई सुरक्षित मानिए पनि बर्सेनि विमान दुर्घटनाको क्रम नरोकिनुले नेपाली आकाश असुरक्षित रहेको हो कि भन्ने आशंका उत्पन्न हुने गरेको छ ।
५ महिना अघि ९ साउन २०८१ मा काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा सौर्य एयरलाइन्सको जहाज चिप्लिएर दुर्घटना हुँदा १८ जनाको ज्यान गयो । पोखराका लागि उडेको जहाज उड्ने बितिकै दाहिनेतिर मोडिन गई रनवेको पूर्वतिर रहेको स्थानमा दुर्घटनाग्रस्त हुन पुगेको थियो । यस्तै १ माघ २०७९ मा पोखराका लागि उडेको यती एअरलाइन्सको विमान पोखराको सेती खोचमा दुर्घटना हुँदा ७२ जनाको ज्यान गएको थियो । १५ जेठ २०७९ मा पनि जोमसोम, मुस्ताङमा तारा एअरको विमान दुर्घटनामा परेर २२ जनाको ज्यान गएको थियो । पोखराबाट जोमसोमका लागि उडेको विमान खराब मौसमका कारण बीचमै दुर्घटना भएको थियो । त्यसअघि १ वैशाख २०७६ मा समिट एअरको विमान लुक्ला विमानस्थलमा दुर्घटना हुँदा तीन जनाको ज्यान गएको थियो । त्यस्तै, २८ फागुन २०७४ मा बाङ्लादेशको ढाकाबाट काठमाडौं आएको यूएस बाङ्ला विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना हुँदा ४९ जनाको ज्यान गएको थियो । त्यसै गरी १२ फागुन २०७२ मा पनि पोखराबाट जोमसोमका लागि उडेको तारा एअरको विमान म्याग्दीमा दुर्घटना हुँदा चालक दलका सदस्य सहित २३ जनाको ज्यान गएको थियो । २४ फागुन २०७० मा पोखराबाट जोमसोमका लागि उडेको नेपाल एअरलाइन्सको विमान दुर्घटनामा १८ जनाको ज्यान गएको थियो । यो विमान खराब मौसमका कारण दुर्घटनामा परेको थियो । यी एक दशकमा भएका केही ठूला विमान दुर्घटना हुन् । नेपालमा त्यस अघि पनि थुप्रै विमान दुर्घटनामा ठूलो मानवियसँगै भौतिक क्षति हुन पुगेको थियो ।
स्थानीय मौसमको अवस्था पूर्वानुमान गर्ने परिपाटीको अभाव, छोटा रनवे र न्याभिगेशनका लागि पर्याप्त प्रविधि नहुँदा दुर्घटना हुने गरेका हुन् । त्यति मात्र होइन कमजोर नियमन, व्यापारिक दवाब, चालक दलका सदस्यहरूले निर्धारण गरिएको नियमको पालना नगर्दा पनि दुर्घटना दोहोरिने गरेका छन् । घटना घट्नसाथ अनुसन्धानका लागि सरकारी तवरबाट समिति बनाइन्छ तर उक्त समितिले बुझाएको प्रतिवेदन कार्यान्वयन हुँदैन । प्रतिवेदन कार्यान्वयन नहुँदा राजनीतिक दल र सरकार एक अर्कामा आरोप लगाएर उम्किने बाहेक अरु केही हुँदैन । यस्ता घटनाहरु दोहोरिन नदिन जिम्मेवार को हो ? भन्ने आम प्रश्न अहिले सर्वत्र छ । तर त्यसको जवाफ कोही कसैसँग छैन् । जसका कारण नेपालको उड्डयन क्षेत्र असुरक्षित बन्दै गएको सरोकारवालाहरुको गुनासो छ ।