Shittalpati
आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदै

पाल्पा, आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदै छ । हरेक वर्ष १० डिसेम्बरको दिन नेपालसहित विश्वभर विश्वभर मानव अधिकार दिवस मनाउने गरिन्छ ।

मानवीय मूल्य, मान्यता, मानव सभ्यता तथा मानव अधिकार संरक्षणप्रतिको प्रतिवद्धता लोकतान्त्रिक व्यवस्था, दिगो शान्ति र विकासको आधारस्तम्भ रहेको तथ्यलाई स्वीकार गर्दै संयुक्त राष्ट्र संघको महासभाले १० डिसेम्बर, १९४८ का दिन मानव अधिकारको विश्वव्यापी घोषणापत्र जारी गरेको थियो । मानव अधिकारको विश्वव्यापी घोषणापत्र जारी गरिएको यसै दिनको सम्झना स्वरूप प्रत्येक वर्ष आजको दिनलाई विश्व समुदायले महत्वपूर्ण दिवसको रूपमा मनाउँदै आएको छ । नेपालमा पनि आज विविध कार्यक्रम गरी मनाइँदैछ । लम्बिदो संक्रमणकाल र राजनीतिक अस्थिरताको कारण नेपालमा मानव अधिकारको अवस्था कमजोर हुँदै गएको छ । विधिको शासनको अभावले गर्दा लामो समयअघिका पीडितले समेत न्याय पाउन सकेका छैनन् । विगत दशवर्षे सशस्त्र युद्वको समयमा ठूलो संख्यामा हत्या, हिंसा तथा अपहरण जस्ता मानव अधिकार हनन्का घटनाहरु भएका थिए । द्वन्द्वको कालखण्डमा सन् २००३ र २००४ नेपाल विश्वमै सर्वाधिक नागरिक बेपत्ता पारिने मुलुक नै बन्न पुगेको थियो ।

नेपालको संविधानले मानवअधिकारको सम्मान, संरक्षण, सम्वद्र्धन र प्रभावकारी कार्यान्वयनको सुनिश्चितालाई जोड दिएको छ । वास्तवमा मानव अधिकार दिवसलाई एउटा उत्सवको रूपमा मात्र हेरिदैन । यो दिवस भनेको हामीले मानव अधिकारप्रति जाहेर गरेका प्रतिवद्धतालाई कति जवाफदेही रूपमा सम्बोधन गर्न सक्यौं यसको समीक्षा गर्ने दिन पनि हो । मानव अधिकारको संरक्षण, संवद्र्धन र सम्मानको मूल आधार भनेको दण्डहीनताको अन्त्यप्रति राज्य जवाफदेही हुनु हो । त्यसैले यस अवसरमा मानव अधिकारको सम्मानका लागि राज्य दण्डहीनताको अन्त्य तथा न्याय सुनिश्चितताका लागि कति जवाफदेही भयो, यसको लेखाजोखा गरी आम नागरिकलाई मानव अधिकारको प्रत्याभूत दिलाउन आवश्यक छ । यो गर्न सकियो भने मात्र मानव अधिकार दिवस मनाउनुले सार्थकता प्राप्त गर्न सक्छ । 

प्रकाशित मिति: मंगलबार, मंसिर २५, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update