अन्तराष्ट्रिय पर्वत दिवस आज नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । संयुक्त राष्ट्रसंघीय पर्यटन संगठनको आह्वानमा हरेक वर्ष डिसेम्वर ११ अर्थात आजकै दिनमा यो दिवस मनाइँंदै आइएको छ । जलवायु परिवर्तन र जनसंख्या वृद्धिका कारण पर्वतीय क्षेत्रमा परेको असर न्यूनीकरणप्रति जनचेतना जगाउने उद्देश्यले यो दिवस मनाउने गरिन्छ । हरेक वर्ष यो दिवस मनाउने गरिए पनि जोखिम अवस्थामा रहेका पर्वतहरु जोगाउने विषयमा भने कसैको पनि ध्यान जान सकेको छैन । यो अत्यन्त दुखको कुरा हो ।
प्राकृतिक सौन्दर्यताको प्रतिक, वातावरणीय विविधताको धौतक, हाम्रा हिमश्रृंखला र हाम्रा आफ्ना पहाड पनि हुन् । नदी नालाको श्रोत, जल, जमीन अनि जंगलको समिश्रण पनि हाम्रा विशाल पर्वत र हिमश्रृंखला नै हुन् । तराईका फाँट सिञ्चित गर्ने हाम्रा पहाड, अनि पहाडको गौरव बढाउने हाम्रा मधेसका उर्वरभूमिले गर्दा हामीले वातावरणीय विविधता र त्यसको उपयोगमा मानवीयता देखाउन नसकेको भन्ने कुरा अहिले आएर जताततै देखिन थालेको आभास हुन्छ । प्रकृतिका हरेक अवयवहरुको पहिचान र अस्त्विलाई बचाई राख्ने काम मानवीय आधारभूत मूल्य र मान्यतालाई पनि अहिलेको समाजले विस्मृत जस्तै अवस्थामा देखाइरहेको छ । नदी नाला र ताल तलैयाहरुको संरक्षण नहुनु चुरे क्षेत्रको दोहनले हिमाल, पहाड र तराईका भू–भागमा बसोवास गर्नेहरु प्रति पर्ने प्रत्यक्ष र अप्रत्यक्ष वातावरणीय असरलाई सुक्ष्म र विस्तृत रुपमा कुनै पनि क्षेत्रबाट अध्ययन नहुने जस्ता घटनाले गर्दा हामी दिनप्रति दिन विभिन्न समस्याबाट घेरिदै गएका हौं ।
हाम्रो साझा भविष्यलाई जगेर्ना गर्ने हो भने जलवायुमा भइरहेको परिवर्तनविरुद्ध लडाइँ लड्न आवश्यक छ । सुन्दर पर्वत जोगाउने अहिलेको चुनौती सरकार एक्लैले मात्र थेग्न सक्दैन । नागरिक समाज, निजी क्षेत्र, सामाजिक संघसंस्था, समाजका प्रतिष्ठित संस्था सबैको सहकार्य हुन जरुरी छ । यो मुद्दा कुनै राजनीतिक पार्टी विशेष वा सरकार विशेषको रुचि र प्राथमिकताको विषय मात्रै हुन सक्दैन । यसको प्रत्यक्ष मारमा समाजको सबै वर्ग, समुदाय र क्षेत्र परेको छ । त्यसैले राष्ट्रिय एजेण्डा बनाएर सरकार,राजनीतिक दल, सरोकारवाला निकाय र समाजका सबै तह र तप्काबीच हातेमालो गर्दै यसविरुद्धको लडाइँ लड्न जरुरी छ । यसो गर्न सकियो भने मात्र हाम्रा पर्वतहरु जोगिन सक्छन् र हरेक वर्ष मनाइने अन्तराष्ट्रिय पर्वत दिवसको समेत सार्थकता रहन्छ । अन्यथा दिवस औपचारिकतामै सिमित बन्ने निश्चित छ ।