पाल्पा, अन्तराष्ट्रिय पर्वत दिवस आज नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाईंदैछ । संयुक्त राष्ट्रसंघीय पर्यटन संगठनको आवानमा हरेक वर्ष डिसेम्वर ११ अर्थात आजकै दिनमा यो दिवस मनाइँंदै आइएको छ ।
नेपाल पर्यटन बोर्ड, नेपाल पर्वतारोहण संघलगायतका संस्थाहरुले विभिन्न कार्यक्रम गर्दैछन् । दिवसका अवसरमा पर्यटनसँग सम्बन्धित संघसंस्था तथा समूहहरुको आयोजनामा विभिनन्न कार्यक्रम आयोजना हुँदैछन् । हरेक वर्ष आजकै दिन (११ डिसेम्बर) मनाइने यो दिवस विश्वसामु यी महत्वपूर्ण तर उपेक्षित क्षेत्रको सम्मान गर्न आह्वान गर्ने दिन पनि हो । पछिल्लो समय जलवायु परिवर्तनका कारण हिउँ पग्लिदा हिमालहरुको अस्तित्व खतरामा परेको आरोहीहरु बताउँछन् । त्यस्तै सरकारले पर्वतारोहीहरुको उचित अनुगमन गर्न नसक्दा हिमालहरु फोहोर बन्दै गएको र पर्यावरणीय प्रदुषण बढ्दै गएको वातावरणविद्हरुको भनाई छ । पृथ्वीको २५ प्रतिशत भू–भाग पर्वतीय क्षेत्रले ओगटेको छ । विश्वको कुल जनसंख्याको करिब २० प्रतिशत मानिस यसै क्षेत्रमा बसोवास गर्छन् । हामी विविधतामा धनी छौँ, हिमाली उत्पादनका विषयमा हामीले गर्व गर्न सक्ने थुप्रै विशेषता छन् । हिमाली जडीबुटीमा हामी विश्वमै धनी छौँ, विशेष छौँ । तर, यही समयमा हामीसँग चिन्ता र चुनौतीहरू पनि बढेका छन् । विश्वमा बदलिँदो जलवायुका असर सोझै हाम्रा हिमाल र पर्वतहरूमा परिरहेका छन्, भूकम्पका कारण हाम्रा हिमालहरूको आधार हल्लिएको हुनसक्ने अनुमान गरिएका छन् । अनि हिमाली क्षेत्रमा पाइने वन्यजन्तु तथा वनस्पतिहरूको पनि लोप हुँदै गएको छ । पर्वत, हिमालमा भइरहेको ह्रासलाई न्यूनीकरण गर्न अब सोच्ने समय आएको छ ।