पाल्पा, जिल्लाको रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले जलवायु परिवर्तनका कारण मानव जीवन नै संकटमा रहेको बताएका छन् । गैरसरकारी संस्था महासंघ पाल्पाको आयोजनामा भएको जलवायु उत्थानशिल कार्य सुदृढीकरणको लागि सचेतनामूलक अभिमूखिकरण कार्यक्रमलाई रामपुरमा सम्बोधन गर्दै उनले जलवायु परिवर्तनका कारण मानव जीवन संकटमा रहेको बताएका हुन् ।
नगर प्रमुख थापाले विश्व मै चुनौतिको रुपमा रहेको जलवायु परिवर्तनको उत्थानशिलताको कार्यका लागि गम्भीरताका साथ लाग्न आवश्यक रहेको उल्लेख गरे । विकाससँगै विनास निम्त्याई जलवायुमा ठूलो असर पुर्याएको भन्दै यसबाट नेपाल जस्तो देश बढी प्रभावित भएको उनले बताए । प्रकृतिको अधिक दोहन र कार्बन उत्सर्जनका कारण जलवायुमा आएको परिवर्तनले हरेक क्षेत्र र प्राकृतिक संरचनामा असर पुर्याएको थापाको भनाई छ । उनले जलवायु परिवर्तन उत्थानशिल कार्यका लागि हरेक स्थानीय तह र निकायले सोही अनुसारको नीति तथा कार्यक्रम एवं योजना बनाउनु पर्नेमा जोड दिए । कार्यक्रममा उपप्रमुख बालकुमारी थापाले चुनौतिको रुपमा रहेको जलवायु परिवर्तनको उत्थानशिलाका लागि मानवीय व्यवहारमा परिवर्तनसँगै सबै सचेत हुनु पर्ने आवश्यकता औल्याइन् । उनले समयमै उत्थानशिल कार्य गर्न नसके मानव र पृथ्वीको भविष्य नै खतरामा पर्ने धारणा व्यक्त गरिन् । गैरसरकारी संस्था महासंघ पाल्पाका अध्यक्ष भोजराज तिमिल्सिनाले जलवायु परिवर्तन र यसको उत्थाशिलता कार्यका लागि सोही तरिकाको योजना तय गरेर जानू पर्ने औल्याए ।
देशभरका ७ सय ५३ वटा पालिका मध्ये १ सय ५१ वटा पालिका बढी प्रभावित हुने र त्यस मध्ये पाल्पाका ७ वटा पालिका पर्ने भएकाले पहिलो चरणमा अभिमुखिकरण कार्यक्रमको थालनी गरिएको उनको भनाई छ । स्थानीय तहका निर्वाचित जनप्रतिनिधिहरुलाई अभिमुखिकरण प्रदान गरिएको हो । कार्यक्रममा प्रशिक्षक सागर भण्डारीले जलवायु परिवर्तनको कारण, प्रभाव र असर, गण्डकी जलाधार र परिवर्तनको जोखिम, स्थानीय तह र जलवायु परिवर्तनको मुद्दा,उत्थानशिल कार्यका उपाय र प्रयास लगायतका विषयमा जानकारी गराएका थिए । कार्यक्रम गैरसरकारी संस्था महासंघ पाल्पाका अध्यक्ष भोजराज तिमिल्सिनाको अध्यक्षता, सचिव ठाकुर पराजुलीको सञ्चालनमा भएको थियो ।