पाल्पा, जिल्लाको रामपुरमा उपप्रमुखसँग किशोरी तथा बालिका शिक्षा कार्यक्रम भएको छ । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको समापनका अवसरमा उपप्रमुखसंग किशोरी तथा बालिका शिक्षा कार्यक्रम अन्तर्गत लैगिंक हिंसा सम्बन्धी वक्तृत्वकला प्रस्तुतिकरण तथा अभिमूखिकरण कार्यक्रम भएको हो ।
कार्यक्रममा रामपुर नगरभित्रका आरधाभूत तह र माध्यमिक तहका छात्राहरुको वक्तृत्वकला र लैगिंक हिंसा सम्बन्धी अभिमूखिकरण कार्यक्रम भएको नगरपालिकाका प्रेस सल्लाहकार दानुु हिस्कीले जानकारी दिए । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले घरबाटै हिंसाको सुुरुवात भएकाले त्यसको अन्त्य पनि घरबाटै गर्न जरुरी रहेको बताए । उनले भने ‘यसको लागि हामी आफै आफ्नै घरभित्रबाट निराकरण गर्न शुरु गरे सबै किसिमका हिंसाको अन्त्य गर्न सक्छौं ।’ नगर प्रमुख थापाले विद्यार्थीहरुबाटै सचेतना फैलाउन सके समाज सुधार हुने भन्दै विद्यालय र विद्यार्थीहरुबाटै हिंसा न्यूनिकरणका लागि सुरुवात गर्न आग्रह गरे । उनले बालविवाहका कारण बढी लैगिंक हिंसा हुने गरेको बताए ।
उपप्रमुख बालकुमारी थापाले लैगिंक हिंसा सम्बन्धी विभिन्न सचेतनाका कार्यक्रम सञ्चालन गरे पनि हिंसा न्यूनिकरण हुन नसक्नु चिन्ताको विषय भएको बताइन् । उनले विभिन्न क्षेत्रमा हुने हिंसालाई निर्मूल पार्न सबै सचेत नहुनुले लैगिंक हिंसा चुनौतिको रुपमा रहेको औँल्याइन् । साथै उपप्रमुख थापाले हिंसारहित समाज निर्माणका लागि सबै सचेत हुन आवश्यक रहेको धारणा व्यक्त गरिन् ।
कार्यक्रममा रामपुर नगरपालिकाका प्रवक्ता कपिल बहादुर खाँणले लैगिंक हिंसा सम्बन्धी कानुन भए पनि यसको प्रभावकारी कार्यान्वयन हुन नसक्नु दुखद पक्ष रहेको बताए । प्रमुख प्रशासकीय अधिकृत सुर्य दर्शन पण्डितले लैगिंक हिंसा न्यूनिकरणका लागि विभिन्न अभियान तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको भन्दै लैगिंक हिंसाप्रति शुन्य सहनशिलताको नीति अनुसार अघि बढेको बताए । यस्तै ईलाका प्रहरी कार्यालय रामपुर पाल्पाका प्रमुख राम बहादुर नेपालीले शिक्षा र चेतनाको कमीका कारण घरेलु हिंसासँग जोडिएका उजुरी बढी आउने गरेको बताए ।
कार्यक्रममा रामपुर अस्पतालका सरिता पौडेलले हिंसाको प्रकार ,अवस्था,लैगिंक हिंसामा परेका पिडितलाई अस्पतालमा उपचारको व्यवस्था,मानसिक सहायता लगाएतका विषयमा सहजिकरण गरेकी थिइन् । उपप्रमुख बाल कुमारी थापाको अध्यक्षता, योजना शाखा प्रमुख विक्रम बस्नेतको सञ्चालनमा कार्यक्रम भएको थियो ।