Shittalpati
आज तीनै तहमा पत्रकार महासंघको चुनाव

पाल्पा, पत्रकारहरुको  छाता संगठन नेपाल पत्रकार महासंघको आज तीनै तहमा निर्वाचन हुन लागेको छ । केन्द्रीय समिति, प्रदेश समिति र  जिल्ला शाखा तथा  प्रतिष्ठान शाखामा नयाँ नेतृत्व चयनका लागि शुक्रबार चुनाव हुन लागेको हो  । महासंघको आगामी तीन वर्षे कार्यकालका लागि नयाँ नेतृत्वको निर्वाचन हुँदैछ । जिल्ला, प्रदेश र केन्द्रको एकैसाथ हुने निर्वाचनमा ७७ वटै जिल्लामा उम्मेदवारी मनोनयन दर्ता सकिएपछि आज निर्वाचन हुन लागेको हो ।

महासंघको संशोधित विधानअनुसार सबै साधारण सदस्यले जिल्ला, प्रदेश र केन्द्रका सबै पदाधिकारी एवं सदस्यका लागि मतदान गर्न पाउने छन् । मतदान आफू सदस्य रहेको शाखामै गर्न पाइने जनाइएको छ । पाल्पामा पनि निर्वाचनको तयारी पुरा भएको निर्वाचन समितिले जनाएको छ । केन्द्रीय समितिका पदाधिकारी तथा सदस्य र लेखा समितिका लागि केन्द्रीय निर्वाचन समितिले मतपत्र छापेर प्रदेश निर्वाचन समितिमार्फत शाखाहरूमा पु¥याइसकेको छ । यसपटकको निर्वाचनमा केन्द्रीय समितिका लागि ३ वटा मतपत्र रहेको छ । केन्द्रीय पदाधिकारीका लागि हल्का निलो, प्रदेशबाट निर्वाचित हुने केन्द्रीय सदस्यका लागि सेतो र अन्य केन्द्रीय सदस्य तथा लेखा समितिको लागि हल्का गुलावी रङको मतपत्र रहेको छ । प्रदेश कार्यसमिति र शाखा कार्यसमितिले मतपत्रको ढाँचा र रङ आफैं छनोट गर्नेछन् । पत्रकारहरुले गोप्य मतदानबाट ३ तहको नेतृत्व छनोटका लागि मताधिकार प्रयोग गर्नेछन् । मतदानस्थलमा जाँदा आफ्नो परिचय खुल्ने म्याद भएको महासंघद्वारा जारी परिचयपत्र वा सूचना तथा प्रशारण विभागद्वारा जारी परिचयपत्र वा नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र वा नेपाल सरकारद्वारा जारी गरिएको परिचय खुल्ने तस्बिरसहितको परिचयपत्रका साथ उपस्थित भई मतदान गर्नुपर्नेछ ।
पाल्पामा अध्यक्ष र सचिवमा प्रतिस्पर्धा हुँदै 
निर्वाचनका लागि पाल्पामा विभिन्न पदमा २३ जनाले उम्मेदवारी दिएका छन् । २३ वटा पदका लागि हुने निर्वाचनमा २४ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन समितिका संयोजक गोविन्दप्रसाद भट्टराईले जानकारी दिए । २४ जनामा केही उम्मेदवार भने निर्विरोध निर्वाचित भएका छन् । महासंघका पाल्पाको अध्यक्षमा दुई जनाको उम्मेदवारी परेको छ । नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालको साझा उम्मेदवारको रुपमा कमलराज तिमिल्सीना र प्रेस सेन्टरबाट कृष्ण दर्नालको उम्मेदवारी परेको छ । त्यसैगरी, उपाध्यक्षमा नेपाल प्रेस युनियनका मुक्ति प्रसाद न्यौपाने र प्रेस चौतारीकी बन्दना पोखरेल उम्मेदवारी परेको छ । उपाध्यक्षमा खुला एक र महिलामा एक जनाको मात्र उम्मेदवारी परेकाले उनीहरु दुवै जना निर्विरोध निर्वाचित भएका छन् । यस्तै सचिवमा नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालको साझा उम्मेदवार रामचन्द्र रायमाझी र स्वतन्त्रबाट भोजराज भट्टराईको उम्मेदवारी परेको छ । सचिव पदका लागि दुवै जना चुनावी मैदानमा उत्रिएका छन् ।

रायमाझीलाई दुवै संगठनको सहयोग रहेको छ भने भट्टराई स्वतन्त्र रुपमा उत्रिएका हुन् । खुला सह–सचिवमा नेपाल प्रेस युनियन र चौतरीका साझा उम्मेदवार दुर्गेस मल्ल र समावेशी सहसचिवमा दानबहादुर हिस्कीले उम्मेदवारी  दिएकोमा दुवै जना निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै कोषाध्यक्षमा नेपाल प्रेस युनियन र चौतरीका साझा उम्मेदवार विजय बौडेलको मात्र उम्मेदवारी परेकाले उनी निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै ४ वटा खुल्ला सदस्य पदमा दयाराज न्यौपाने, दिपक ढुंगाना, नेत्र गैरे, सुनिल कार्की र महिला सदस्यमा शुसिला रेग्मीको उम्मेदवारी परेकोमा उनीहरु पनि निर्विरोध भएका छन् । एक जना दलित सदस्यमा भने डोलबहादुर विक र हरिबहादुर विकको उम्मेदवारी परेकाले निर्वाचन हुने छ ।  जनजाति तर्फको सदस्यमा धनबहादुर ठाडाको मात्रै उम्मेदवारी परेकाले उनी निर्विरोध भएका छन् । समावेशी सदस्यमा भने कसैको पनि उम्मेदवारी नपरेको निर्वाचन समितिका सदस्य भरत प्रसाद आचार्यले जानकारी दिए । यसैगरी ३ वटा राष्ट्रिय परिषद सदस्यमा यज्ञमूर्ति तिमिल्सेना, सीतादेवी डोटेल, राजेन्द्र लिगलको उम्मेदवारी परेको छ । तीनै जना र्निविरोध  भएका छन् । प्रदेश परिषद सदस्यमा ५ जनामा ४ जनाको उम्मेदवारी परेको छ । जसमा कृष्णप्रसाद पोखरेल, दीपक भट्टराई, पवित्रा घिमिरे र इमानसिं रानाको उम्मेदवारी परेको छ । उनीहरु पनि निर्विरोध निर्वाचित भएका छन् ।
 

प्रकाशित मिति: शुक्रबार, मंसिर २८, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update