पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघ चुनावको आज पाल्पासहित देशैभरका जिल्ला, प्रदेश र केन्द्रमा हुँदै छ । सत्तामा रहेका नेपाली काँग्रेस शुभेच्छुक संस्था नेपाल प्रेस युनियन र एमालेको शुभेच्छुक संस्था प्रेस चौतारी नेपालबिच एउटा ‘एलाइन्स’ तयार भएको छ भने सत्ताइतर अथवा प्रतिपक्षमा रहेका राजनीतिक पार्टीका शुभेच्छुकहरूबीच अर्को प्रकारले ‘एलायन्स’ भई उम्मेदवारहरु चुनावी मैदानमा उत्रिएका छन् । तर, सूचना सम्प्रेषण गर्ने जिम्मेवारी पाएकाहरुले अब कसलाई नेतृत्वमा लैजाने ? पत्रकारको हकहितको काममा लाग्ने व्यक्ति हो होइन ? जस्ता विषयमा सचेततापूर्वक हेर्नुपर्ने स्थिति आइलागेको छ ।
अहिले पत्रकारिता र सञ्चारमाध्यममा देखिएका समस्या समाधान गर्न सक्ने नेतृत्व पत्रकारहरुले खोजिरहेका छन् । सञ्चारमाध्यममा रोजगारी संकुचनदेखि कामबाट जबर्जस्ती निकालिने समस्या थप चुलिएको छ । सञ्चारमाध्यममा विज्ञापनको खडेरी लाग्नेदेखि व्यवस्थापन पक्षका कारण पत्रकारिता नामको पेसा नै संकटमा छ । गम्भीर संकटबाट गुज्रिएको र संकटमा परेको पेसा अँगालेका पत्रकारहरुले आज आफ्ना प्रतिनिधि छान्ने अवसर पनि हो महासंघको निर्वाचन । यस्तोमा पेसालाई सम्मान गर्न सक्ने र श्रमजीवी पत्रकारको पक्षमा काम गर्ने हुटहुटी बोकेको पात्रलाई महासंघको नेतृत्वमा ल्याउन आवश्यक छ । योग्यले विजय हासिल गर्न सकोस् । अयोग्य विजयी भएर योग्य पराजित हुन पुग्यो भने त्यो अवस्था दुर्भाग्यपूर्ण हुनजान्छ । जित्ने तर पत्रकारहरूका हकहितमा केही गर्न नसक्ने अकर्मण्यताको अवस्था आउनु हुँदैन । ‘एलायन्स’ जसजसका बीचमा बनेको होस् त्यसले कुनै फरक पार्दैन तर विजयी बनेको पक्ष सधैं पेशागत हकहितमा लाग्न सकोस्, राष्ट्र, राष्ट्रियता र प्रजातन्त्रको संरक्षका लागि सदैव लागिरहोस् भन्ने सबैको चाहना हो । तसर्थ आज देशैभर हुन लागेको पत्रकार महासंघको निर्वाचनले पत्रकारहरुको हितमा सक्षम र सवल नेतृत्व चयन गर्न सकोस् । सम्पूर्ण पत्रकारहरुले त्यसतर्फ ध्यान दिएर आफ्नो मताधिकार प्रयोग गरौं ।