पाल्पा, पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघ पाल्पा शाखाको शुक्रबार भएको निर्वाचनमा ९४ दशमलव २० प्रशित मत खसेको छ । शाखामा रहेका कुल ६९ जना मतदाता मध्ये ६५ जना अर्थात् ९४ दशमलव २० प्रतिशतले मतदान गरेका हुन् ।
एक जना अध्यक्ष, एक सचिव र एक जना दलित सदस्यका लागि भएको निर्वाचनमा ६५ जनाले मतदान गरेको निर्वाचन समितिका संयोजक गोविन्द भट्टराईले जानकारी दिए । अध्यक्षमा नेपाल प्रेस युनियन र प्रेस चौतारीका साझा उम्मेदवार कमलराज तिमिल्सेना र प्रेस सेन्टरका कृष्ण दर्नालको उम्मेदवारी परेको थियो । यस्तै सचिवमा नेपाल प्रेस युनियन र प्रेस चौतारीका साझा उम्मेदवार रामचन्द्र रायमाझी र स्वतन्त्रबाट भोजराज भट्टराईको उम्मेदवारी परेको निर्वाचन समितिका सदस्य जोगबहादुर विकले जानकारी दिए । उनका अनुसार एक जना दलित सदस्यका लागि डोलबहादुर विक र हरिबहादुर विकको उम्मेदवारी परेको हो । मतदान शुक्रबार साँझा ४ बजे सकिएर मतगणना जारी छ ।
निर्वाचनका लागि पाल्पामा विभिन्न पदमा २३ जनाले उम्मेदवारी दिएका थिए । २३ वटा पदका लागि भएको निर्वाचनमा २४ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन समितिका सदस्य भरत आचार्यले जानकारी दिए । २४ जनामा केही उम्मेदवार भने निर्विरोध निर्वाचित भएका छन् । महासंघ पाल्पाको उपाध्यक्षका लागि नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालको साझा उम्मेदवारको मुक्ति प्रसाद न्यौपाने र बन्दना पोखरेलको उम्मेदवारी परेको थियो । उपाध्यक्षमा खुला एक र महिलामा एक जनाको मात्र उम्मेदवारी परेकाले उनीहरु दुवै जना निर्विरोध निर्वाचित भए । यस्तै खुला सह–सचिवमा नेपाल प्रेस युनियन र चौतरीका साझा उम्मेदवार दुर्गेस मल्ल र समावेशी सहसचिवमा दानबहादुर हिस्कीले उम्मेदवारी दिएकोमा दुवै जना निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै कोषाध्यक्षमा नेपाल प्रेस युनियन र चौतरीका साझा उम्मेदवार विजय बौडेलको मात्र उम्मेदवारी परेकाले उनी निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै ४ वटा खुल्ला सदस्य पदमा दयाराज न्यौपाने, दिपक ढुंगाना, नेत्र गैरे, सुनिल कार्की र महिला सदस्यमा शुसिला रेग्मीको उम्मेदवारी परेकोमा उनीहरु पनि निर्विरोध भएका छन् । यस्तै जनजाति तर्फको सदस्यमा धनबहादुर ठाडाको मात्रै उम्मेदवारी परेकाले उनी निर्विरोध भएका छन् । समावेशी सदस्यमा भने कसैको पनि उम्मेदवारी नपरेको निर्वाचन समितिका सदस्य भरत प्रसाद आचार्यले जानकारी दिए । यसैगरी ३ वटा राष्ट्रिय परिषद सदस्यमा यज्ञमूर्ति तिमिल्सेना, सीतादेवी डोटेल, राजेन्द्र लिगलको उम्मेदवारी परेको छ । तीनै जना र्निविरोध भएका छन् । प्रदेश परिषद सदस्यमा ५ जनामा ४ जनाको उम्मेदवारी परेको छ । जसमा कृष्णप्रसाद पोखरेल, दीपक भट्टराई, पवित्रा घिमिरे र इमानसिं रानाको उम्मेदवारी परेको छ । उनीहरु पनि निर्विरोध निर्वाचित भएका छन् । शुक्रबार नै महासंघको तीनै तहमा निर्वाचन भएको हो । केन्द्रीय समिति, प्रदेश समिति र जिल्ला शाखा तथा प्रतिष्ठान शाखामा नयाँ नेतृत्व चयनका लागि चुनाव भएको हो ।