जनतामा यति बेला राजनितिक दलहरुप्रती वितृष्णा पैदा भएको छ । नेताले जनभावना अनुसार काम गर्न नसक्दा जनताहरु असन्तुष्ट हुनु स्वभाविक नै हो । ‘जनता गई भाडमें’ सोच राख्ने देशको ठूला पार्टीका नेतृत्वप्रति साँच्चै अहिले नागरिकमा चरम असन्तुष्टि छ । विशेषतः नयाँ पिढीमा यस्तो राजनीतिक असन्तुष्टि बढिदिँदा नयाँ दलहरूप्रतिको आकर्षण देखियो । नागरिकलाई सधैं दास सम्झने प्रवृत्तिका कारण यस्तो राजनीतिक नतिजा आएको हो भन्दा फरक पर्दैन ।
नेतृत्वले आफूलाई सर्वेसर्वा ठान्ने, भुई मान्छेका कुरा नसुन्ने, पदमा पुगेपछि जनजीवीकाका समस्याप्रति बेवास्ता गर्ने प्रवृत्तिका कारण नयाँ दल आफूलाई स्थापित गर्ने लाइनमा छन् । यसलाई परिवर्तनको नयाँ शीराका रूपमा लिदा फरक पर्दैन । जसले जतिसुकै इन्कार गरे पनि राजनीति गर्नुको उद्देश्य सत्ता प्राप्ति नै हो । तर प्राप्त सत्ता देश र जनताको हितमा अधिकतम प्रयोग गर्ने विषय भने सधैं विस्मृतिमा पर्दै आएको देखिन्छ । यो अत्यन्तै दुःखद् कुरा हो । राजनीति आमजनताको सरोकार हुनुपर्ने भनिए पनि राजनीतिक दलका नेता र कार्यकर्ताको क्रियाकलापले गर्दा आममानिसमा राजनीतिप्रति लगावको भावना बढेको देखिँदैन। जसलाई राजनीतिप्रति थोरबहुत चासो छ, तिनीहरु स्वयं वा तिनका व्यक्तिहरुको हितका प्रयोजनले गर्दा हो भन्नुलाई अतिशयोक्तिका रुपमा लिनु नपर्ला । राजनीतिप्रति वितृष्णा र अलगावको भावना उब्जनु देश र जनताको हितको सवालमा राम्रो होइन । तर यो नेपाली राजनीतिको तीतो यथार्थ बन्न पुगेको छ। यसमा तर्क गर्न सकिएला तर तथ्यलाई नजरअन्दाज भने पक्कै गर्न सकिन्न । जबसम्म नेता र नेतृत्व सच्चिन्न तबसम्म जनतामा असन्तुष्टि बढ्दै जान्छ । जनताले पनि आफ्नो नेतृत्वलाई बेला बेलामा खबरदारी गर्न आवश्यक छ । यसो भयो भने मात्र समाज र देश बन्छ ।