पाल्पा, पत्रकारिता क्षेत्रमा क्रियाशिल नाम हो रामचन्द्र रायमाझी । गुल्मीको इस्मा गाउँपालिका –२ रातडाँडा स्थायी घर भएका रायमाझी विगत एक दशक लामो समयदेखि पाल्पामा रहेर पत्रकारिता गर्दै आएका छन् । २०६९ मा तानसेन छिरेका उनी कान्तिपुर, अन्नपूर्ण पोष्ट, गोरखापत्र, कारोबार, हिमालयन टाइम्स जस्ता विभिन्न राष्ट्रिय दैनिक पत्रिकाहरुको पाल्पामा बजार व्यवस्थापकको रुपमा रहेर ५ वर्ष काम गरे । सोही अवधिमा छिट्टफुट्ट रुपमा भैरहवाबाट प्रकाशित लुम्बिनी साप्ताहिकमा समाचार लेख्दै आएका उनी २०७४ देखि भने पूर्ण रुपमा समाचार लेखनमै सक्रिय रहे । २०७४ देखि व्यवस्थापकको जिम्मेवारीबाट अलग भएका रायमाझी सोही वर्षदेखि पाल्पाबाट प्रकाशित नवजनचेतना राष्ट्रिय दैनिकमा वरिष्ठ संवाददाताका रुपमा कार्यरत रहे । ६ महिना पछि भने उनी उपसम्पादकमा नियुक्ती भए । ५ वर्ष बढी नवजनचेतना दैनिक र शितलपाटी डटकम अनलाईनमा उपसम्पादकको जिम्मेवारीमा रहेर काम गरेका रायमाझी विगत केही समय यता सम्पादकको जिम्मेवारीमा छन् । लगनशिल र मेहनतका साथ काममा समर्पित उनी शुक्रबार भएको पत्रकारहरुको छाता संगठन पत्रकार महासंघ पाल्पा शाखाको निर्वाचनमा सचिवमा भारी मतले विजयी भएका छन् । निर्वाचनमा नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालको संयुक्त प्यानलबाट सचिवमा उम्मेदवारी दिएका रायमाझीले कूल खसेको मतमा ४९ मत ल्याएर विजयी भए ।
अहिले दैनिक पत्रिकाको सम्पादकदेखि संगठनका महत्वपूर्ण पदमा रहेर जिम्मेवारी पुरा गर्दै आएका रायमाझी नेपाल प्रेस युनियन पाल्पाको उपसभापति पनि हुन् । युनियनको साधारण सदस्य हुदैँ सचिव, उपसभापति बनेका उनी संगठन र पत्रकारहरुको पक्षमा निरन्तर आफुलाई समर्पित गर्दै आएका छन् । उनले आवाजबिहिनहरुको आवाजलाई कलमको माध्यमबाट उजागर गर्नेदेखि अनियमिता, भ्रष्टाचार, सामाजिक विकृती बिसंगतिका बिरुद्ध सक्रिय रुपमा खबरदारी गर्ने र संगठनमा रहँदा समग्र पत्रकारहरुको क्षमता अभिवृद्धि तथा सुरक्षाको विषयमा सक्रिय भूमिका खेल्दै आएकै कारण छोटो समयमै महासंघको सचिव बन्न सफल भएका हुन् । अर्थशास्त्रबाट स्नाकोत्तर अध्ययन गरेका रायमाझी सचिवमा निर्वाचित भएसँगै मतदातालाई धन्यवाद दिर्दै पत्रकारहरुको आर्थिक तथा भौतिक सुरक्षा, पत्रकारहरुको क्षमता अभिवृद्धि, सञ्चारगृहहरुको समस्या पहिचान गरी दीर्घकालीन समाधान, राजनीति पूर्वाग्रहहरुलाई कम गरी पत्रकारितालाई निष्पक्ष बनाउने, श्रमजीवी पत्रकारहरुको हक अधिकार सुनिश्चित गरी लोकतान्त्रिक मुल्य र मान्यता स्थापित गर्ने, व्यवहारिक, रणनीतिक दिगो पत्रकारिता प्रवद्र्धन गर्ने दिशामा आफु सक्रिय भएर लाग्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।