पाल्पा, रानीमहल बचत तथा ऋण सहकारी संस्था लिमिटेड तानसेनले १६ औँ वार्षिक साधारण शनिबार मनाएको छ । सहकारीले एक औपचारिक कार्यक्रमको आयोजना गरी सभा गरेको हो ।
सभामा संस्थाका अध्यक्ष भूगोलप्रसाद वैजु श्रेष्ठले वार्षिक गतिविधि सार्वजनिक गर्दै आगामी वर्षका भावी योजनाहरू प्रस्तुत गरे । कार्यक्रममा लेखा समितिका संयोजक रविमोहन श्रेष्ठले आर्थिक कारोबार सम्बन्धी लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाको आर्थिक वर्ष २०८०/८१ मा सेयरपुँजीतर्फ १ करोड ३६ लाख ८१ हजार २ सय, बचततर्फ ९ करोड ९० लाख ९१ हजार २ सय ९९ रहेको छ । यसैगरी बचत फिर्तातर्फ ११ करोड ८० लाख ७५ हजार ८ सय ५१, फिर्ता गर्न बाँकी बचततर्फ ६ करोड ६८ लाख ७४ हजार ५० रहेको छ । यसैगरी ऋण लगानीतर्फ ७ करोड ५३ लाख ५६ हजार ५ सयले १६ , ऋण असुलीतर्फ ४ करोड ११ लाख ९१ हजार ५ सय १४ रहेको छ । यसैगरी लगानी रहेको ऋणतर्फ ७ करोड ५३ लाख ५६ हजार ५ सय १६ रहेको छ । यसैगरी संस्थाले गत आर्थिक वर्षमा १ लाख ६४ हजार ३ सय ४८ खुद मुनाफा गरेको छ ।
संस्थाले सेयर सदस्यबाट सुत्केरी भएका पाँचजना सेयर सदस्यहरूलाई पौष्टिक आहारको लागि चार/चार हजारका दरले रकम प्रदान गरेको छ । यसैगरी बिरामी भएका दुईजना सेयर सदस्यहरूलाई पाँच/पाँच हजारका दरले नगद उपचार खर्च प्रदान गरेको छ भने मुत्यु भएका दुई जना सेयर सदस्यहरूको लागि अन्तिम संस्कारको लागि १० हजार ५ सयका दरले क्रिया खर्च उपलब्ध गराएको छ । वार्षिक साधारण सभाको अवसरमा ७० वर्षभन्दा माथिका सबै जेष्ठ नागरिक बचतकर्ताहरुलाई नगद रकमले सम्मान गरेको छ । संस्थामा नियमित शैक्षिक बालबचतकर्ताहरुलाई विभिन्न उपहारसहित सम्मान गरेको छ । संस्थाले शैक्षिक बाल बचतकर्ताहरूलाई पनि सम्मान गरेको छ । यसैगरी संस्थाले असल बचतकर्ता असल ऋणीलाई सम्मान गरेको छ । संस्थाले सहकारीको मूल्य मान्यता सिद्धान्त अनुसार अबका दिनमा सबै सेयर सदस्यहरूको लगानी बराबर बनाउने निर्णय समेत गरेको छ । संस्थाले आफ्ना सेयर सदस्यहरुलाई बलियो आत्मनिर्भर बनाउनको लागि सामुहिक रुपमा लगानी गर्ने १० जना शेयर सदस्यहरुको समुहलाई ब्याजमा एक प्रतिशत र विभिन्न सेवा शुल्कमा छुट दिने निर्णय समेत गरेको छ । संस्थाले आफ्ना सेयर सदस्यहरूलाई आवश्यक पर्ने घरायसी सरसमानहर किस्ताबन्दीमा समेत उपलब्ध गराउने निर्णय गरेको छ । सेयर सदस्यहरूलाई पानी बिजुली टेलिफोन जस्ता कार्यालयमा समेत महसुल तिरिदिने व्यवस्था मिलाएको छ । संस्थाका कुनै पनि सेयर सदस्यहरू बिरामी भई रगतको आवश्यकता परेमा संस्थाले सहजीकरण गर्ने निर्णय गरेको छ । कुनै पनि सेयर सदस्य मृत्यु भई घाट लैजानुपर्ने अवस्था भएमा सर्वसुलभ रुपमा गाडीको व्यवस्था समेत संस्थाले गरिदिने निर्णय गरेको छ ।
साधारण सभालाई सम्बोधन गर्दै जिल्ला बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष होमनाथ न्यौपानेले सहकारीको मुख्य काम भनेको एक आपसमा सहकार्य गरेर शेयर सदस्यको हितमा काम गर्ने निती रानीमहल सहकारीले लिएको बताए । बचत तथा ऋण सहकारीको लागि त असल ऋणी र असल बचतकर्ता नै सहकारीको भविष्यको आधार भएको उपाध्यक्ष न्यौपानेको भनाई छ । कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश परिषद सदस्य कृष्ण पोखरेलले संस्थाले शेयर सदस्यको हक हितमा केन्द्रित गरेर अन्य सहकारीलाई पनि बाटो देखाउने काम गरेको बताए । कार्यक्रममा कोषाध्यक्ष किशोरदर्शन बज्राचार्यले आर्थिक वर्ष २०८०/८१ को आयव्यय र चालु आर्थिक बर्ष २०८१/८२ को अनुमानित आय व्यय विवरण पेश गरेका थिए । संस्थाका अध्यक्ष भुगोल वैजु श्रेष्ठको अध्यक्षता,सचिव सोवाकान्त न्यौपानेको सञ्चालनमा कार्यक्रम भएको थियो ।