पाल्पा,शिक्षा स्वास्थ्य तथा साहित्य प्रतिष्ठान नेपालले १९ औं वार्षिक दिवस मनाएको छ । उसले विभिन्न कार्यक्रमहरु गरी वार्षिक दिवस मनाएको हो ।
कार्यक्रममा ७ औं अधिवेशन र कवि कुलमणि देवकोटाको ९६ औं जन्मजयन्ती मनाइएको छ । कार्यक्रमको प्रमुख अतिथि पुतलीबजार नगर प्रज्ञा प्रतिष्ठान स्याङ्जाका कुलपति वरिष्ठ साहित्यकार विश्वप्रेम अधिकारीले उद्घाटन गरेका हुन् । सभाको उद्घाटन गर्दै पाल्पाको साहित्यलाई उचो बनाउनुका साथै शिक्षा र स्वास्थको क्षेत्रमा प्रतिष्ठानले महत्वपूर्ण योगदान पुर्याउँदै आएकोमा खुसी व्यक्त गरे । उनले प्रतिष्ठानको सिको अन्य साहित्यिक संस्थाहरुले पनि गर्नुपर्ने बताए । सोही अवसरमा प्रतिष्ठानले विभिन्न दशजना व्यक्तित्वलाई पुरस्कार तथा सम्मान र विभिन्न विद्यालयका पन्ध्र जना विद्यार्थीहरूलाई शैक्षिक छात्रवृत्तिहरू समेत प्रदान गरेको छ । उसले कुलमणि देवकोटा स्मृति प्रतिभा पुरस्कारबाट आगो काव्य उपविधाका परिकल्पनाकार दीर्घबहादुर चन्द ‘सुमन’, लक्ष्मीप्रिय जगतबहादुर जोशी स्मृति पुरस्कारबाट कोपिला परिकल्पनाकार गिरिराज डल्लाकोटीलाई पुरस्कृत गरेको छ ।
यस्तै प्रतिष्ठानले जगत कुलमणि कविन्द्र त्रिनक्षेत्र पुरस्कारबाट सुसेली प्रवर्तक दुर्गा अधिकारी भमरकोटे, प्रतिष्ठानका संरक्षक प्रा.डा. प्रकाशराज रेग्मीद्वारा स्थापित विमला रेग्मी स्वास्थ्य सेवा पुरस्कारबाट उत्कृष्ट नर्स दीपा गहतराज, मिसन अस्पताल पुरस्कृत भएको प्रतिष्ठानले जनाएको छ । यस्तै इन्द्रलाल भारती शिक्षा सेवा सम्मानबाट सेवानिवृत प्रधानाध्यापक अच्युतराज शर्मा, शक्तिराज रेग्मी सञ्चार सेवा सम्मानबाट सन्तोष बस्याल, बालहरि स्वास्थ्य सेवा सम्मान स्वास्थ्यकर्मी सूर्यबहादुर कार्की, दीनानाना साहित्य सेवा सम्मानबाट उपन्यासकार रजिउल्ला मियाँ,राधावद्री स्मृति स्वयंसेवा सम्मानबाट टोप प्रसाद श्रेष्ठ र तुलठगी शैक्षिक प्रतिभा पुरस्कारबाट न्यु होराइन स्कुलका आरोही खनाललाई पुरस्कृत गरिएको छ । समारोहमा विभिन्न छात्रवृत्ति समेत प्रदान गरिएको छ । प्रतिष्ठानका संरक्षक प्रा. डा. प्रकाश राज रेग्मीद्वारा स्थापित विमला कमल शैक्षिक छात्रवृत्ति भैरव बहुमुखी क्याम्पस छहराकी लिला गाहालाई १० हजार ,प.प.न. मा. वि.का दुर्गा हेमचुरी, विपना सेन,सेन मा. वि.का वृषा वि.क.र सुस्मिता यादव, कालिका मा.वि.का अर्जुन जि.सी.निरा गाहालाई प्रति विद्यार्थी वार्षिक ३ हजारका दरले छात्रवृत्ति प्रदान गरिएको छ ।
यस्तै इ.डा.ज्योति रेग्मी अधिकारीद्वारा स्थापित ज्ञानज्योति शैक्षिक छात्रवृत्ति प.प.न.मा.वि. का छात्राहरू यमुना कुमाल र जगमाया घर्ती ,तानसेन बहुमुखी क्याम्पसका ललि दर्लामी र खुस्वु पन्त तथा त्रिभुवन बहुमुखी क्याम्पसको छात्रा हिरा अर्घालीेलाई दिइएको छ । उनीहरुलाई ३ हजार दिइएको हो । मनोहर ज्ञवाली , रोहित ज्ञवाली र खुमानन्द खनालद्वारा स्थापित माता दीनकुमारी ज्ञवाली शैक्षिक छात्रवृत्ति तानसेन बहुमुखी क्याम्पसको छात्रा सुहानी मगरलाई दिएको छ । उनलाई २ हजार ५ सय प्रदान गरिएको हो । नैना नेपाल ढकाल शैक्षिक छात्रवृत्ति प.प.न.मा.वि. छात्राहरू प्रियन्का सुनार र निशा आलेलाई प्रदान गरिएको छ । उनीहरुलाई वार्षिक २ हजार ५ सयका दरले प्रदान गरिएको हो ।
कार्यक्रममा पत्रकार सेनानी मेघराज शर्मा, नेपाल पत्रकार महासंघ पाल्पाका नवनिर्वाचित उपाध्यक्ष मुक्ति न्यौपाने, पाल्पा साहित्य समाजका सचिव सविता भट्टराई , प्रलेस पाल्पाका अध्यक्ष राम प्रसाद अर्याल, सामाजिक व्यक्तित्व मोहन प्रसाद श्रेष्ठ, युनाइटेड मिसन अस्पतालका नि. अस्पताल प्रमुख डा. तुलबहादुर पुन, कोपिलाका परिकल्पनाकार गिरिराज डल्लाकोटी, आगोका परिकल्पनाकार दीर्घबहादुर चन्द लगायतले आ–आफ्ना धारणा राखेका थिए । प्रतिष्ठानका सदस्य गम्भीर रायमाझीले ७ लाख ३७ हजार ३ सय ९३ बराबरको आय व्यय प्रस्तुत गरे । प्रतिष्ठानका अध्यक्ष पुष्कर अथक रेग्मीको अध्यक्षता, उपाध्यक्ष रोहित प्रसाद ज्ञवालीको स्वागत , महासचिव चन्द्रकान्त न्यौपानेको सञ्चालनमा कार्यक्रम भएको थियो ।