Shittalpati
 पाल्पा महोत्सव हुँदै, तयारी तीव्र

पाल्पा, पाल्पाको बगनासकाली गाउँपालिका – १ चिलाङ्दीमा पाल्पा महोत्सव हुने भएको छ । कुटुम्ब मिडिया नेटवर्क प्रालिको आयोजना र बगनासकाली गाउँपालिकाको प्रवद्र्धनमा यहि पुस ९ गतेदेखी १८ गतेसम्म महोत्सव हुन लागेको हो ।

आयोजकले आइतबार पत्रकार सम्मेलन गरी महोत्सवबारे जानकारी गाराएको छ । जिल्लाको पर्यटन प्रवद्र्धन, व्यापार एवं स्थानीय कलासंस्कृति तथा धार्मिक सांस्कृतिक महत्वलाई बढाउन महोत्सव गर्न लागिएको महोत्सव मूल समारोह समितिका संयोजक नारायण न्यौपानेले बताए । उनले  महोत्सवको तयारी तीव्र पारिएको जानकारी गराए । बगनासकाली क्षेत्रमा गरिएको यो पहिलो र ठूलो महोत्सव भएकाले महोत्सवको व्यापक प्रचार–प्रसारमा सहयोग गरिदिन न्यौपानेले पत्रकारहरुलाई आग्रह गरे । महोत्सवमा फोटो ग्यालरी र स्थानीय कलासंस्कृति ’झ्याउरे, सोरठी, रत्यौली, बालन, भजन, कौरा, मारुनी, लाखे, पञ्चेवाजा, लोपोन्मुख कुमाल, बोटे लगायतको कलासंस्कृति प्रस्तुत गरिने संयोजक  न्यौपानेले बताए । महोत्सवमा कृषि, घरेलु उद्यम, शिक्षा, प्रविधि र व्यापारका गरी १ सय ५० स्टल रहने उनको भनाई छ । महोत्सवको पहिलो दिन उद्घाटन समारोहमा कल्चर एण्ड कन्ट्री विशेष कार्यक्रम सञ्चालन गरिनेछ । 

महोत्सवमा हरेक दिन राष्ट्रिय चर्चित कलाकारहरुको प्रस्तुतीसँगै स्थानीय कलाकार र कला केन्द्रहरुको प्रस्तुती रहने महोत्सव मूल समारोह समितिका सदस्य यज्ञमूर्ति तिमिल्सिीनाले बताए । उनका अनुसार बगनासकाली डान्स आईडलमार्फत प्रतिभा पहिचान गरिनेछ । महोत्सव स्थलमा स्टलका रुपमा रहेका होटल तथा रेष्टुरेन्टमा स्थानीय दुनाटपरीको उपयोगलाई प्राथमिकता दिइने उनले बताए । महोत्सवमा स्थानीय किसानहरुबाट उत्पादित कृषि उत्पादनको प्रदर्शनी र कृषि उत्पादन शुलभ मूल्यमा खरिद विक्रीको व्यवस्था मिलाइनेछ । बगनासे साँचो, दुनाटपरी उद्योग, विद्यार्थीहरुवाट निर्मित शैक्षिक सामग्री प्रदर्शनको तयारी समेत गरिएको तिमिल्सिीनाको भनाई छ ।  महोत्सवमा करिव १ लाख ५० हजार दर्शकले अवलोकन गर्ने र कुल ३ करोडको कारोवार हुने आयोजकले लक्ष्य लिएको  छ । महोत्सवमा प्रवेश शुल्क साधारणतर्फ ८० र विद्यार्थीहरुलाई ५० रुपैयाँ तोकिएको छ । पत्रकार सम्मेलनमा पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखीराम राना र नवनिर्वाचित अध्यक्ष कमलराज तिमिल्सिनाले महोत्सव  सफलताको शुभकामना व्यक्त गरे । उनीहरुले विगतमा अन्य संघसंस्थाहरुले आयोजना  गर्ने  मेला महोत्सव भन्दा फरक र रचनात्मक ढंगले गर्न आयोजकलाई सुझाव समेत दिए । कार्यक्रममा पत्रकारहरुले राखेका जिज्ञासाको समितिका संयोजक न्यौपानेले जवाफ दिएका थिए । संयोजक न्यौपानेको अध्यक्षता समितिका सदस्य विष्णु घिमिरेको स्वागत, अर्का सदस्य यज्ञमूर्ति  तिमिल्सिनाको सञ्चालनमा कार्यक्रम भएको  थियो ।  

प्रकाशित मिति: आइतबार, मंसिर ३०, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update