पाल्पा, लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले लुम्बिनी प्रदेशको खस्कदो शैक्षिक क्षेत्र सुधार गर्ने बताएका छन् । आइतबार नेपाल प्रेस युनियन पाल्पा शाखाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री तिमिल्सिनाले समृद्धिको आधार नै गुणस्तरीय शिक्षा भएकाले त्यसतर्फ आफुहरुको पहिलो प्राथमिकता रहेको बताएका हुन् ।
उनले शिक्षालाई कसरी गुणस्तरीय बनाउन सकिन्छ भनेर आफू निरन्तर लागेको उल्लेख गरे । मन्त्री तिमिल्सिनाले प्रदेशमा एसईईको नतिजा खस्कदो रहेकाले त्यसको सुधार आवश्यक रहेको उल्लेख गर्दै प्रदेश सरकारले कार्यक्रम नै बनाएर अघि बढेको बताए । शिक्षामा सुधार नहुँदासम्म देशको आर्थिक विकास हुन नसक्ने भएकाले पहिलो प्राथामिकता नै गुणस्तरीय शिक्षा रहेको उनको भनाई छ । मन्त्री तिमिल्सिनाले भने ‘अब आर्थिक क्रान्तिको आन्दोलन आवश्यक छ, त्यसका लागि शिक्षामा व्यापक सुधार गर्न जरुरी छ ।’ उनले प्रदेश भित्रका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बढाउनुको साथै पहुँच भन्दा बाहिर रहेका विद्यालयलाई समेत पहिचान गरी प्रदेश सरकारले आवश्यक सहयोग गर्ने बताए । प्रदेश भित्रका सामुदायिक विद्यालयमा अध्ययन गर्ने न्युन आर्थिक स्तरका बालबालिकाहरुलाई सहज र गुणस्तर शिक्षा उपलब्ध गराउन मन्त्रालय लागि परेको उनले उल्लेख गरे । विपन्न परिवारका १० जना बालबालिकालाई आफूले पढाउँदै आएको समेत मन्त्री तिमिल्सिनाले बताए । उनले पहुँचवाला विद्यालयले मात्रै सुविधा लिने गरेको पाइएको बताए । मन्त्री तिमिल्सिनाले भने ‘लुम्बिनी प्रदेशमा दुई हजार ८ सय ४ वटा विद्यालयले अहिलेसम्म कुनै पनि सुविधा लिएका छैनन् , यस्ता विद्यालयहरुको हामी पहिचान गरेर आवश्यक सहयोग गर्छौं ।’
गुणस्तरीय शिक्षा प्रदान गर्दै रोजगारीको अवसर सिर्जना गर्नु अहिलेको आवश्यकता रहेको उनको भनाई छ । ‘अब विद्यालयमा राहत, निजी, शिक्षकहरु थपेर मात्रै काम छैन तिमिल्सिनाले भने–‘गुणस्तरीयता हेर्नुपर्छ, रोजगारी सुनिश्चित गर्ने खालको शिक्षा अहिलेको आवश्यकता हो । विद्यालयहरु अब त्यसतर्फ केन्द्रीत हुन आवश्यक छ ।’ पढ्दै गर्ने, सीप सिक्दै गर्ने र रोजगारी पनि दिने खालको शिक्षा अहिलेको आवश्यकता रहेको उनले बताए । मन्त्री तिमिल्सिनाले शिक्षा ऐन सुधार हुन नसक्दा केही समस्या भएकाले त्यो संशोधन गर्न जरुरी रहेको बताए । उनले संघीय शिक्षा ऐन संशोधन भएर आएमा प्रदेशमा पनि ऐन बनाउन बाटो खुला हुने बताए ।
बर्दिया क्षेत्र नम्बर २ को (क) बाट नेपाली काँग्रेसबाट निर्वाचित भएका तिमिल्सिना यस अघि लुम्बिनी प्रदेश, नेपाली काँग्रेस संसदीय दलमा प्रमुख सचेतकको भुमिकामा समेत रहेका थिए । कार्यक्रममा पत्रकारहरुले राखेका जिज्ञासाको मन्त्री तिमिल्सिनाले जवाफ दिएका थिए । युनियनकी जिल्ला सभापति मन गहिरेको अध्यक्षता, उपसभापति रामचन्द्र रायमाझीको स्वागत, सचिव विष्णु घिमिरेको सञ्चालनमा कार्यक्रम भएको थियो ।