Shittalpati
मौसमी प्रतिकूलता : सतर्कता आवश्यक

चिसो मौसम सुरु भएको छ । यो समयलाई हिउँदको मौसमको रुपमा पनि लिइन्छ । यो मौसम सुरु भएसँगै चिसो बढ्ने क्रम दिनप्रतिदिन बढ्दै गएको छ ।  देशका केही ठाउँहरुमा हिमपात समेत परेको छ । पश्चिम नेपालका पहाडी र हिमाली क्षेत्रमा पानी पर्नाका साथै हिमपात भइरहेको छ । हिउँद महिनामा यसो हुनुलाई अस्वाभाविक पनि मान्न मिल्दैन । समयचक्र अनुसार यस्तो हुनुपर्छ त्यो अन्यथा होइन । कहिले केही ढिलो र कहिले अलिक छिटो हुनु स्वाभाविक हो । यस वर्षको यो हिउँदे वर्षा र हिमपात अलिक छिटो भएको चाहिँ हो । मंसिर महिनादेखि जाडो सुरु हुने गर्छ । पुस र माघ महिनालाई सबैभन्दा बढी जाडो हुने महिनाका रूमा लिने गरिन्छ । त्यसैले पनि चिसो बढेर गएको छ । 

चिसोसँगैै शरीरको तापक्रम घट्ने हुँदा कहिलेकाहीँ बढेको चिसोलाई शरीर अनुकुल बनाउन समय लाग्ने भएकाले समेत विभिन्न स्वास्थ्य समस्या बढ्न सक्ने चिकित्सकहरुको भनाई छ । त्यस्तै, जाडो मौसममा मानिसहरू आराम गर्न र आफ्नो शरीरलाई न्यानो राख्न घरभित्रै बस्न बढी रुचाउने हुँदा शारीरिक गतिविधि कम हुने र आवश्यक व्यायाम पनि नगर्दा शरीर निष्क्रिय भएका कारण समेत विभिन्न स्वास्थ्य समस्या निम्तिन सक्ने उनीहरुको भनाई छ । यो समयमा शीतलहर चल्नेगर्छ र कठोर जाडो हुन्छ । जाडोले कठांग्रिएर केही मानिसहरूको मृत्यु समेत हुने गरेको छ । मंसिर महिना नै अत्यधिक चिसो भएकाले यस वर्ष अझ बढी चिसो हुने संकेत देखिएको छ । जसले गर्दा अहिले नै सर्तकता अपनाउन आवश्यक छ ।

सामान्यतया हिउँदको झरी र हिमपात मंसिर महिनामा हुनेगरेको देखिँदैन तर यस वर्ष मंसिरको अन्तिम साता मै  हुम्ला जुम्लातिर बाक्लो हिमपात भएको र अन्य क्षेत्रमा पानी परेको छ । पूर्वी नेपाल र राजधानी रहेको काठमाडौं उपत्यकामा भने हालसम्म पानी परेको छैन । घाम पनि अत्यन्तै मधुरो अवस्थामा लागेकाले चिसो छ । यो चिसोबाट बच्च अहिले नै बुद्धिमानीपूर्ण सावधानीका उपाय अपनाउनुपर्ने जरुरी छ । 

प्रकाशित मिति: सोमबार, पुस १, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update