Shittalpati
पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टितेलको घट्यो

पाल्पा, नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ भने डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको आइतबारको बैठकले सोमबारदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ बढाएको तथा डिजेल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँ घटाएको हो । इन्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार मूल्य समायोजन गरिएको निगमले स्पष्ट पारेको छ ।

निगमले पहिलो वर्गका लागि पेट्रोल प्रतिलिटर एक सय ५९ रुपैयाँ ५० पैसा, ताकेको छ । दोस्रो वर्गका लागि प्रतिलिटर एक सय ६१ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर एक सय ६२ रुपैया तोकिएको निगमले जनाएको छ । यस्तै डिजेल र मट्टितेल पहिलो वर्गका लागि प्रतिलिटर एक सय ४८ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि प्रतिलिटर एक सय ५० रुपैयाँ र तेस्रो वर्गका लागि एक सय ५१ रुपैयाँ निर्धारण गरिएको छ । निगमले पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगन्ज, दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङ तथा तेस्रो वर्गअन्तर्गत काठमाडौँ, पोखरा र दिपायल तोकेको छ ।

 डिपोदेखि १५ किलोमिटरसम्मका लागि पेट्रोलियम पदार्थको नयाँ खुद्रा बिक्री मूल्य लागू हुने निगमले जनाएको छ । इण्डियन आयल कर्पोरेशनबाट आइतबार प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यअनुसार प्रतिलिटर पेट्रोलमा दुई रुपैयाँ २८ पैसा बढेको र डिजेलमा प्रतिलिटर एक रुपैयाँ ४८ पैसा घटेकाले मूल्य समायोजन गरिएको निगमले स्पष्ट पारेको छ । खाना पकाउने एलपी ग्यास र हवाई इन्धनमा भने मूल्य यथावत् राखिएको छ ।

प्रकाशित मिति: सोमबार, पुस १, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update