पाल्पा, जिल्ला सदरमुकाम तानसेनका महिलाहरु जुस बनाउने अभियानमा जुटेका छन् । तानसेन नगरपालिका –४ का महिलाहरु स्थानीय उत्पादन प्रयोग गरेर जुस, जाम, जेली र मिक्स जाम बनाउने अभियानमा लागेका हुन ।
यहाँका १२ वटा टोलविकास संस्थाका ३० जना महिलाहरुले स्थानीय उत्पादन, सुन्तला, मौसम, बेलाउती, स्याउ लगायतका सरसमानहरु प्रयोग गरेर स्थानीय रुपमा जेली, जाम र जुस बनाउने काममा लागेका छन् । ४ नंं वडा कार्यालयको आर्थिक सहयोग, मखनटोल टोल विकास संस्थाको आयोजनामा वडाभित्रका टोलविकास संस्थाहरुबाट ३० जना सहभागितामा ४ दिने जुस बनाउने तालिम पाएपछी महिलाहरु जुस बनाउने अभियानामा लागेका हुन् । संस्थाले यही मंसिर २८ गते देखी पुस १ गते सम्म ४ दिने जुस बनाउने तालिम सञ्चालन गरेको हो ।
तालिमको सोमबार एक कार्यक्रमकाबिच समापन गरिएको छ । कार्यक्रममा तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले तानसेनका महिलाले जुस जाम बनाउँदा स्थानीय उत्पादनको प्रयोग हुँदा कृषकको आयआर्जनमा वृद्धि हुने र महिलाको आयआर्जनमामा टेवा पुग्ने बताए । उनले भने ‘निरन्तर जुस, जाम, जेली बनाउनुस्, गुणस्तरीय उत्पादन गर्नुस् ,एउटा उद्योगको रुपमा दर्ता गर्नुस् आवश्यक पर्ने सरससमानदेखी बजारीकरणमा नगरपालिकाले सहयोग गर्ने छ । ’
नगर प्रवक्ता यादव सिंह कार्कीले तालिमलाई व्यवहारिक रुपमा प्रयोगमा ल्याउन नगरपालिकाबाट संस्थाले खोजेको सहयोग प्रदान गर्न सकिने बताए । वडा अध्यक्ष हेमन्तराज शाक्यले वडाका महिला लक्षित बजेटबाट महिलाको आयआर्जनमा बृद्धि गर्न, उत्पादनशिल कार्यमा महिलालाई लगाउन यो कार्यक्रम गरिएको बताए । कार्यक्रममा प्रशिक्षक कुशल ठाडाले तालिम लिएका सबैले घर–घरमा गएर जुस, जेली, जाम बनाउने र घरपरिवारका सदस्यहरुलाई चखाउने, खुवाउने गर्दा नै तालिमको व्यबहारिक अभ्यास हुने बताए । तालिममा सहभागी टोपराज श्रेष्ठ र मोहन कुमारी थापाले तालिम निकै व्यबहारिक भएको र आफुहरुले दिनहुँ जुस बनाउन अभ्यास गर्ने बताए । संस्थाकी अध्यक्ष ज्ञानु कार्कीको अध्यक्षता,सचिव सरस्वती राजभण्डारीको सञ्चालनमा कार्यक्रम भएको थियो । मखनटोल टोल विकास संस्थाले बनाएको जुस आगामी सडक खाना महोत्सवमा विक्रि गर्ने जनाएको छ ।