कम लगानीमा बढी प्रतिफल दिने मुलुकको पर्यटन व्यवसाय आर्थिक समृद्धिको महत्वपूर्ण आधार हो । देशको तीनखम्बे अर्थतन्त्रमा ऊर्जा, कृषि र पर्यटनलाई लिइएको छ । पर्यटन क्षेत्रको विकासमार्फत नेपालको आर्थिक अवस्थामा आमूल परिवर्तन ल्याउन सकिने भए पनि त्यसको सुधारमा कसैको पनि ध्यान जान सकेको छैन । कोभिड महामारीपछि नेपालको पर्यटन क्षेत्र अत्यन्त सुस्ताएको छ । जुन रुपमा आन्तरिक तथा बाह्य पर्यटकहरुको आगमन बढ्नुपर्ने हो त्यसो हुन सकेको छैन् । पर्यटकीय क्षेत्रमा चहलपहल नहुदा मुलुकको अर्थतन्त्र समेत शिथिल अवस्थामा पुगेको छ । हाल बैंकहरूमा पैसा थुप्रिएको छ । तापनि यहाँका उद्यमी व्यवसायीहरूले चाहे जति ऋण लिई विभिन्न व्यवसाय सञ्चालनबाट मुनाफा गरेर बैंकको ऋण तिर्ने अवस्था छैन् । फलतः यहाँको अर्थतन्त्र चलायमान हुन सकेको छैन् । आयातभन्दा निर्यात बढी घटेकोले अर्थतन्त्र सन्तोषजनक अवस्थामा छैन् । विगतमा जस्तै चालू खर्च बढे पनि पुँजीगत खर्च तथा राजस्व अपेक्षाअनुरूप बढाउन सकिएको छैन् ।
खर्चको हिसाबले नेपाल एक सस्तो देश मानिन्छ । तर, प्रचार–प्रसारको कमीले यहाँ सोचेअनुरूप पर्यटकहरू आउँदैनन् । वस्तुतः नेपालमा पदयात्रा, जलयात्रा, तालतलैया बिहार, प्याराग्लाइडिङ, बन्जी जम्पिङ, जंगल सफारी, गुफाको यात्रा आदि गर्न सकिने भएकोले प्रत्येक वर्ष प्रचुर मात्रामा पर्यटकलाई आकर्षण गर्न सकिन्छ । पुर्खाले आर्जेका र प्रकृतिले दिएको प्रचुर सम्पदाको सदुपयोग गर्नसके भविष्यमा नेपालमा पर्यटन उद्योगबाट धेरै फाइदा लिन सकिन्छ । तर सरकारले समेत यसतर्फ खासै चासो देखाएको पाइँदैन । पर्यटनका पूर्वाधारको विकास तथा पर्यटनका क्षेत्र र गन्तव्यको पहिचान, प्रवद्र्धन तथा विविधीकरणमा ध्यान पुग्न सकेको छैन् । नेपाली परिवेशमा पर्यापर्यटनको उद्देश्य पर्यटन र वातावरणमा सामाञ्जस्य ल्याउनु हो, जसका माध्यमबाट स्थानीय ग्रामीण अर्थतन्त्रलाई माथि उठाउन सकियोस् । तर, पर्यटनलाई विकेन्द्रित गर्दै यसको लाभ आधारभूत तहसम्म पुर्याउने कुरामा सरकारी तवरबाट गाम्भीर्यता देखिँदैन । आयात र भुक्तान सन्तुलनका लागि आवश्यक पर्ने विदेशी मुद्रा आर्जनको प्रमुख स्रोतका रूपमा रहेको पर्यटन व्यवसायलाई वेवास्ता गर्ने हो भने देशले ठूलो आर्थिक भार व्यहोर्नुपर्ने हुन सक्छ । पर्यटनलाई पुनर्जीवन दिनका लागि पर्यटक आगमन तथा हालको विद्यमान व्यवस्थामा तत्काल सुधार गर्नुपर्छ । बढी भन्दा बढी पर्यटकहरु भित्र्याउने वातावरण सरकारले सिर्जना गरिदिनुपर्छ । यसका लागि सरकारले पर्यटनमैत्री थप कार्यक्रमहरु ल्याउन जरुरी छ ।