पाल्पा, गृहमन्त्री रमेश लेखक भोली (बुधबार) पाल्पा आउने कार्यक्रम तय भएको छ । इलाका प्रशासन कार्यालय रामपुरको नवनिर्मित भवनको उट्घाटनका लागि उनी पाल्पा आउन लागेका हुन् ।
मन्त्री लेखकले भोली विहान साढे ११ बजे भवनको उट्घाटन गर्ने कार्यक्रम रहेको इलाका प्रशासन कार्यालय रामपुरले जनाएको छ ।
गृह मन्त्रालय र आन्तरिक मामिला मन्त्रालय लुम्बिनी प्रदेशको संयुक्त आयोजनामा भैरहवामा सुरु भएको प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई उनले मंगलबार सम्बोधन गरेका छन् । गोष्ठीमा सहभागी पछि मन्त्री लेखक पाल्पा आउन लागेको उनको सचिवालयले जनाएको छ ।
इलाका प्रशासन कार्यालय रामपुरले २०७३ देखि नै भाडाको घरबाट सेवा दिँदै आएको थियो । १४ कोठा सहितको साढे २ तल्ले भवन निर्माण भएपछि गत साउनदेखि सेवा दिन सुरु भए पनि बुुधबारदेखि विधिवतरुपमा नयाँ भवनबाट सेवा दिइने छ । चार करोड ६८ लाख ६८ हजार ८ सउ ५३ रुपैयाँ लागतमा म्याद थप पश्चात् निर्माण कम्पनीले गत असार २२ मा भवन निर्माण सम्पन्न गरेको थियो ।