पाल्पा, आज डिसेम्बर १८ अर्थात् अन्तर्राष्ट्रिय आप्रवासी दिवस विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेपालमा पनि सरकारी, गैरसरकारी, निजी क्षेत्र, ट्रेड युनियन, नागरिक सामाज र आप्रवासी श्रमिक तथा श्रमिकका परिवारले विभिन्न जनचेतनामूलक कार्यक्रम गरी यो दिवस मनाइँदैछन् । सन् १९९० मा विश्व आप्रवासी कामदार र उनीहरूका परिवारको हकअधिकार संरक्षणका लागि संयुक्त राष्ट्रसंघले अन्तर्राष्ट्रिय महासन्धी पारित गरेको दिनको सम्झनामा हरेक वर्षको १८ डिसेम्बरमा यो दिवस मनाउने गरिएको हो ।
विश्वभर पौने तीन अर्ब आप्रवासी रहेको तीमध्ये आधाभन्दा बढी कामका लागि एक–अर्को देशमा जाने गरेको अन्तर्राष्ट्रिय श्रम संगठन आईएलओले जनाएको छ । विश्वव्यापीकरण, औद्योगिकीकरण, सूचना र सञ्चारको विस्तारसंगै अन्तर्राष्ट्रिय स्तरमा आप्रवासीको संख्या बढ्दै गएको छ । राजनीतिक अस्थितरताका कारण नेपालमा पछिल्लो समयमा रोजगारीका लागि विदेशिनेको संख्या बढेको श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ । रोजगारी र जीविकोपार्जनका लागि अर्को देशमा गई बस्ने प्रक्रियालाई आप्रवासन भनिन्छ । आप्रवासी कामदारहरुमा चेतना जगाउने, आप्रवासी कामदारहरुलाई सम्बन्धित देशका घरेलु कामदारलाई जस्तै मान्यता र सुरक्षा प्रदान गर्नुपर्ने सन्देशसहित विश्वभर यो दिवस मनाउने गरिन्छ । विदेशमा काम गर्न जाँदा आप्रवासी कामदारमाथि पारिश्रमिक तथा अन्य सेवा सुविधा, न्यूनतम मानव अधिकार, विदेशी नागरिक भएको कारण विभेद नहोस् भन्ने उद्देश्य यो दिवसको रहेको छ । विशेष गरी नेपालीहरुको गन्तव्य खाडी मुलुकहरु र मलेशिया, दक्षिण कोरिया, पूर्वी अमेरिका हो । नेपालीहरु कामकै लागि यूरोप सहित विश्वका १९० वटा देश पुग्दै आएका छन् । यस्तो अवस्थामा आप्रवासी नेपाली कामदारहरुले दैनिक रुपमा अनेकौं समस्याको सामना गर्दै आएका छन् । आप्रवासी कामदारले भित्र्याएको विप्रेषणले उनीहरुको मात्रै होइन पुरै देशकै आय श्रोतमा बढोत्तरी भएको छ । वैदेशिक रोजगारी, पेशा व्यवसाय र अध्ययन लगायतका लागि एक देशबाट अर्को देशमा मानिसहरुको आउजाउ झन् बढ्दै गएको छ ।
नेपालमा पनि सरदर वार्षिक दश लाख नेपाली कामका लागि विभिन्न देशमा जाने गर्छन् । नेपालको मुख्य श्रम गन्तव्य खाडी मुलुक र मलेसिया हो । विदेशमा जाने कामदारमध्ये धेरैले विभिन्न समस्या भोग्नुपरेपछि सरकारले अभिमुखीकरण तालिम नदिई वैदेशिक रोजगारीमा पठाउने सेवा प्रदायक संस्थाको लाइसेन्स खारेज गरिदिने चेतावनी दिएको छ । पछिल्लो समय अध्ययनका लागि विदेसिने विद्यार्थीको संख्या बढ्दो छ । सरकारले वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउनका लागि विभिन्न पहल गरिरहेको जनाएको छ ।