“नमस्कार सर ! ” भन्दै एउटा युवक होटल भित्र पस्छ । पसलेले पनि प्रत्युत्तरमा नमस्कार फर्काउदै भन्छ, “कता नी बाबु, अचेल के गर्दै छौ ?” “क्याम्पस पढ्दैछु । अँ त सरले पसल खोलेको चालपाएर सरको चिया पसलमा चिया पिंउ भनेर नी ! कहिलेदेखि खोल्नु भएको सर ?” युवकले हाँस्दै बस्दै भन्छ । “धेरै भएको छैन, यस्तै डेढ दुई महिना जति भयो, के गर्ने त उभो लाग्ने कोशिस गर्नु पर्यो नी ! ” पसलेले खिन्न हुँदै जवाफ दियो । चिया आईपुगेकोले युवक चिया पिउन लाग्यो । पसले आफ्नै काममा तल्लिन भएर रक्सी र चुरोट प्रेमीहरुको चित्त बुझाउँदै थियो । युवकले जाने बेलामा मनको खुल्दुली मेट्न एउटा प्रश्न गर्यो, मुसुमुसु हाँस्दै, “सर ! स्कूलमा छँदा तपाईले मलाई, हामीलाई, सबै विद्यार्थीहरुलाई भन्ने गर्नुहुन्थ्यो कि रक्सी चुरोटको सेवन नगर्नु र अरुलाई पनि त्यसको सेवन गर्नबाट रोक्नु भनेर तर आज आएर सर तपाईले नै किन रक्सी र चुरोट बेच्न थाल्नुभएको ?” पसलेले त्यस युवक अर्थात् आफ्नो स्कूले विद्यार्थीलाई जवाफ दिन त्यतिबेला शब्दनै भेटाएन्, बाध्यता र विवशताले गर्दा चुपचाप खिसिक्क हाँसिदियो तर उसको मन भट्किरÞयो । शान्त पार्नलाई उसले अतितको स्मरण गर्न थाल्यो ...।
उसको खास नाम त मित्रलाल थियो तर पनि सबै विद्यार्थीहरुले उसलाई मित्रु सर भनि चिनेका थिए । मित्रुलाई देख्नासाथ सब थर्कमान हुन्थे । साना–साना सिगान पुछ्न नजान्ने नानीहरुदेखि लिएर ठूला –ठूला प्रवेशिका स्तरमा नानीहरुको नजरमा पनि उ उत्तिकै प्रेक्षणीय व्यक्तित्व थियो । उसले लगन र कर्तव्यनिष्ठाका साथ निरन्तर स्कूलमा अटुटरुपमा सेवा गर्यो । ईमानदारी, वफादारी, मेहनती, परिश्रमी र विद्यार्थीप्रिय भएकोले नै उसलाई नजानेर पनि कसैले पछाडी पनि गाली गरेनन् । उसका समकालीन सरहरु, साथीहरु पनि कुनै सरकारी अड्डामा जागिरे भए भने कति त उद्योग कलकारखाना तिर भने, कतिले स्कूलमा अध्यापनको अतिरिक्त घरमा ट्यूसन चलाए । उसको विषयमा अधिकांश विद्यार्थी पास हुनाले नै उसले ट्यूशन चलाउने कल्पनासम्म पनि गर्न सकेन । विद्यालय र विद्यार्थीको भविष्यमा समर्पित उसले २५ औं वर्ष बिताई सक्यो । देख्दा देख्दै उसले पढाएका विद्यार्थीहरु इन्जिनियर, डाक्टर, प्राध्यापक, वकिल, पाइलट, सचिव भएर निस्किए । उसलाई भने शीरमा ढाका टोपी, कमिज, पाइन्ट, खुट्टामा सामान्य जुत्ता पहिरिएर, हातमा चक, डस्टर अनि रजिष्टर समात्न टुटेन । उसको डेरा सामुन्ने नै बस्ने गरीव खत्रीले परहार मात्र चिया पसल खोलेको थियो भने पोहोर रेष्टुरामा परिणत गराएका थियो । अहिले आएर बहाल गरेर बसेको त्यही घरलाई आफ्नै नाममा किनिसक्यो भने सडक लाईनमा एउटा राम्रो चिटिक्कको घडेरीको बन्दोवस्त पनि मिलाई सक्यो । यसरी आफ्नै आँखाले देख्दादेख्दै, भोग्दाभोग्दै चार वर्षकै अन्तरालमा खत्रीले आफ्नो जीवनस्तर उकासिसक्यो । ऊ लखपति बनिसक्यो । मित्रु सरको आँखाले यो सबै देखेकोले, मित्रु सर आफू भने सधै उही पहिरन र यात्रामा हिडेको चालपाएर उसले पनि स्कुलमा शिक्षण पेशा चटक्कै त्यागेर केही बर्षमै आफ्नो जीवनस्तर उकास्ने विचारले चिया पसल खोलेको छ । जहाँ उसले आफ्नो आदर्शलाई थाती राखेर चिया, चुरोट, खैनी, सुर्ती, रक्सी, वियर, मम र सुकुटी आदि सबै बेच्दैछ । (लेखक पाल्पा साहित्य समाजका अध्यक्ष,शीत र त्रिशूल काव्यका परिकल्पनाकार समेत हुन्)