Shittalpati
रवि लामिछानेलाई रहरले होइन अपराधको अनुसन्धान गर्न घुमाइएको हो : गृहमन्त्री लेखक

पाल्पा(रामपुर), गृहमन्त्री रमेश लेखकले पूर्वगृहमन्त्री रवि लामिछानेलाई रहरले नभई अपराधको अनुसन्धान गर्न घुमाइएको बताएका छन् । बुधबार पाल्पाको रामपुरमा नवनिर्मित इलाका प्रशासन कार्यालय भवनको उद्घाटन गर्दै उनले लामिछानेलाई सरकारले ठाउँ– ठाउँमा घुमाएर दुख दिएको भन्ने कुराहरु आएकाले त्यो रहरले नभइ अनुसन्धानका लागि ठाउँ–ठाउँ घुमाइएको स्पष्ट पारेका हुन् ।

गृहमन्त्री लेखकले भने,‘यो देशमा जतिसुकै ठूलो मान्छे भए पनि यति अपराध गरेको छ भने कानुन अनुसार अनुसन्धान हुन्छ । सबैमाथि अनुसन्धान हुन्छ, मान्छे सानो छ कि ठूलो छ हेरिर्दैन, अनुहार राम्रो छ कि नराम्रो छ हेरिदैन, को सँग कसलाई रिसुटेको छ, त्यो सँग सरकोकार छैन । यति कुनै गैरकानुनी काम भएको छ भने जति ठूलो मान्छे भए पनि कानुन अनुसार कारवाही हुन्छ ।’ सरकारले भ्रष्टाचार नियन्त्रण गरेर सुशासन कायम गर्न लागि परेको छ । त्यहीअनुसार अनुसन्धान भइरहेको उनको भनाई छ ।  गृहमन्त्री  लेखकले वर्तमान सरकार मुलुकमा स्थिरता र सुशासनका लागि गठन भएको र त्यसै अनुसार काम गरिरहेको बताए ।  उनले भने, ‘निश्चित उद्देश्य लिएर सरकार गठन भएको हो, त्यसै अनुसार काम अगाडी बढिरहेको छ ।’  मन्त्री लेखकले सुशासन र शान्ति सुरक्षा अहिलेको सरकारको प्रमुख प्राथमिकता भएको बताए । उनले पछिल्लो समय लोकतन्त्रविरोधी गतिविधि बढेको भन्दै लोकतन्त्रको विकल्प लोकतन्त्रमात्रै भएको बताए । ‘लोकतन्त्र अनुशासनको पद्धति हो, जनताले सेवा वितरणका पद्धति हो,’ उनले भने, ‘आफ्ना कुरा भन्न पाइन्छ, विरोध गर्न पाइन्छ, आलोचना गर्न पाइन्छ, तर यसका नाममा अराजकता र कसैको चरित्र हत्या हुने गतिविधि गर्न पाइदैन ।’ उनले आलोचना र विरोध गर्दा संयमित र मर्यादित हुनुपर्ने बताए । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई कमजोर गर्ने छुट कसैलाई नभएको उनले बताए । गृहमन्त्री लेखकेले फरक प्रसंगमा कालिगण्डकी करिडोरले पाल्पाको रामपुरको ठूलो सम्भावना रहेको उल्लेख गरे । उनले चीन र भारतलाई जोड्ने बाटोमा रामपुर रहेको बताउँदै यसको सुन्दर भविष्य र सम्भावना रहेको जिकिर गरे । भवनको उद्घाटन मात्र उपलब्धि नभएको भन्दै सेवा प्रवाह प्रभावकारी बनाउनुपर्नेमा गृहमन्त्रीको जोड थियो । ‘जिल्ला प्रशासन कार्यालयबाट पाउने सबै सेवा पाउने व्यवस्था गरिने छ । कर्मचारीको अभावले सेवा प्रवाहमा कुनै समस्या हुने छैन् । यो सरकारको पहिलो प्राथमिकता नागरिकको सेवा गर्नु हो । यो त्यसैले बनेको हो,’ उनले भने ।  गृहमन्त्री लेखकले शान्ति सुरक्षा लोकतन्त्रको पहिलो सर्त भएको बताए । ‘लोकतन्त्रको पहिलो सर्त शान्ति सुरक्षा हो । हामीले शान्ति सुरक्षा दिन सक्यौं भने नागरिकले निर्बाध रूपमा आफ्ना मौलिक हकको उपयोग गर्नुहुन्छ । संघीय लोकतन्त्रिक व्यवस्थाले शान्ति सुरक्षा, सुशासन र विकासको ग्यारेन्टी हुन्छ’, गृहमन्त्री लेखकले भने । उनले रामपुर नगरपालिका–५  बेझाड बजारमा निर्मित इलाका प्रशासन कार्यालयको उद्घाटन गरेका हुन् । उद्घाटनसँगै चार करोड ५६ लाख ७७ हजार पाँच सय ७१ को लागतमा निर्मित १४ कोठे भवनबाट सेवा प्रवाह प्रारम्भ भएको छ ।

नवनिर्मित भवनबाट राहदानी र राष्ट्रिय परिचयपत्र सेवा प्रवाह भएको छ । सदरमुकाम तानसेनबाट प्रवाह हुँदै आएको राहदानी र राष्ट्रिय परिचयपत्र सेवा यहाँबाट प्राप्त भएपछि स्थानीय हर्षित भएका छन् । कार्यक्रममा प्रतिनिधिसभा सदस्य नारायण आचार्य,राष्ट्रिय सभा सदस्य राजेन्द्रलक्ष्मी गैरे, लुम्बिनी प्रदेश सांसदहरु वीरबहादुर राना, राजुश्रेष्ठ, जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनाल, रामपुर नगरपालिकाका नगरप्रमुख रमणबहादुर थापा लगायतले आ–आफ्ना धारणा राखेका थिए । कार्यक्रम गृह सचिव गोकर्ण दवाडीको अध्यक्षता, प्रमुख जिल्ला अधिकारी  तोयनारायण सुवेदीको स्वागत, जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत दिनेश ज्ञवालीको सञ्चालनमा कार्यक्रम भएको थियो । 

प्रकाशित मिति: बिहीबार, पुस ४, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update