Shittalpati
पालिकामा चौकी स्थापना, स्तरोन्नतिदेखि दरबन्दीको व्यवस्था गर्न माग

पाल्पा,गृहमन्त्री रमेश लेखकसँग पाल्पाका पालिका प्रमुखहरुले छलफल गरेका छन् । रामपुर नगरपालिकाको आयोजनामा रामपुरमा जिल्लाका पालिकाका प्रमुखहरुले गृहमन्त्री लेखकसँग छलफल गरेका हुन् ।

उनीहरुले गृहमन्त्रीसँग आ–आफ्ना पालिकाको सुरक्षा अवस्थाका बारेमा जानकारी गराउँदै थप शान्तिसुरक्षाको माग गरेका छन् । पालिका प्रमुखहरुले पालिकाको सुरक्षा व्यवस्था बलियो बनाउन प्रहरी चौकी स्थापना, स्तरोन्नतिदेखि दरबन्दीको व्यवस्था गर्न गृहमन्त्रीसँग माग गरेका हुन् । कार्यक्रममा रामपुर नगरप्रमुख रमणबहादुर थापाले जनघनत्व बढ्दै जाँदा नगरको शान्तिसुरक्षालाई मजबुत बनाउन प्रहरी दरबन्दी थप गर्नुपर्ने आवश्यकता औँल्याए । कालीगण्डकी करिडोर सडकले रामपुरलाई नारायणगढ, बुटवल, काठमाडौँ, पोखरा जस्ता ठूला सहरलाई जोडेकाले शान्तिसुरक्षा व्यवस्थामा नगरमा चुनौती थपिएको उनको भनाइ थियो । नगर प्रमुख थापाले रामपुरमा तत्काल डिएसपी पठाउन, अव्यवस्थित जग्गाको श्रेस्ता कायम भएकाले तत्काल बेच विखन गर्नका लागि कानुनी बाटो फुकाउन, इलाका प्रशासन कार्यालयमार्फत राहदानी र राष्ट्रिय परिचयपत्र वितरण सेवा नियमित प्रदान गर्न आग्रह गरे । तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले तराई र पहाडलाई जोड्ने सिद्धार्थ राजमार्गको तिनाउमा प्रहरी चौकी स्तरोन्नति, नुवाकोटमा अस्थायी प्रहरी चौकी स्थापना गर्न माग गरे ।

रैनादेवी छहरा गाउँपालिकाका अध्यक्ष रुक्मा·त भट्टराईले पनि पालिकामा शान्तिसुरक्षामा सहजता हुने गरी व्यवस्था गर्नुपर्ने बताए । उनले सालझण्डीको अस्थाई प्रहरी चौकीलाई स्थायी बनाई भवन निर्माण गर्न र अर्घाखाँचीको पणेना र तिनगिरेसँगको सिमाना विवाद तत्काल समाधान गरिदिन पनि आग्रह गरे । माथागढी गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदीले प्रहरी चौकी भए पनि दरबन्दी कम रहेकाले स्तरोन्नतिका लागि गृहमन्त्रीलाई अनुरोध गरे । रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायण जिसीले कागजमा अधिकार उल्लेख भए पनि काम गर्न कठिनाइ रहेकाले यसमा सहजीकरण आवश्यक रहेको धारणा व्यक्त गरे । उनले फेकमा प्रहरी चौकी स्थापना गर्न माग गर्दै सिजि सिमेन्ट उद्योगले रिब्दीकोटवासी बढी पिडित रहेको भन्दै आवश्यक परिणाममुखी पहल गर्नुपर्नेमा जोड दिए । यस्तै रम्भा गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले रम्भाको हुँगी प्रहरी चौकीको स्तरोन्नतिसंगै अन्य अस्थायी पोष्टलाई स्थायी बनाउन माग गरे । साथै उनले रम्भाको वडा नं.१ दुरी र सहजताका हिसाबले रामपुर पायक पर्ने भएकाले प्रशासनिक कामका लागि इलाका प्रशासन कार्यालय रामपुरबाट सेवा प्रदान गर्ने व्यवस्था मिलाउन पनि आग्रह गरे । निस्दी गाउँपालिकाका अध्यक्ष मुक्त बहादुर सारुले वेग्रह र होङ्सी सिमेन्ट खानीमा प्रहरी चौकी आवश्यक रहेकोले तत्काल स्थापना गर्न आवश्यक व्यवस्था गरिदिन मन्त्रीसमक्ष कुरा राखे ।

तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले ऐतिहासिक महत्व बोकेका क्षेत्रको संरक्षणका लागि स्थानीय सरकारको बचेटले मात्र सम्भव नभएको भन्दै केन्द्र सरकारले विषेश प्राथमिकता दिन जोड दिए । साथै स्थानीय सरकारलाई सहज रुपमा काम गर्नका लागि संघ सरकारले सहज कानुन बनाइदिन पनि मन्त्रीलाई आग्रह गरे । गृहमन्त्री लेखकले पालिका प्रमुखहरूले उठाएका माग जायज भएकाले जिल्लाको आवश्यकतालाई हेरेर व्यवस्थापनका लागि काम गर्ने प्रतिबद्धता जनाए । पछिल्लो समय प्रहरीप्रति जनताको विश्वास बढेको भन्दै जनताको शान्ति सुरक्षाका लागि सरकार प्रतिबद्ध भएर लागेको मन्त्री लेखकले उल्लेख गरे । उनले हरेक स्थानमा प्रायः प्रहरी र इलाका प्रशासनको माग बढी आउने गरेको भन्दै आवश्यकता अनुसार सबै स्थामा व्यवस्था गरिने बताए । गृहमन्त्री लेखकले स्थानीय सरकार संविधानले सबैभन्दा धेरै विश्वास गरेको र जिम्मेवारी बढी भएको सरकार भएकाले जनमैत्री काम गर्न पनि आग्रह गरे । उनले भने ‘जनता सबैभन्दा छिटो र सजिलो नजिक जोडिने निकाय स्थानीय सरकार हो, सिमित स्रोत साधनकाबिच काम गर्नु परे पनि उत्साह र आत्मबलका साथ जनताको सेवामा लाग्नु अहिलेको आवश्यकता हो ।’ रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाको अध्यक्षता, उपप्रमुख बाल कुमारी थापाको स्वागत, नगर प्रवक्ता कपिल बहादुर खाँणको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: शुक्रबार, पुस ५, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update