कृषिमा व्यवसायीकरण आजको आवश्यकता हो । नेपालको कृषि प्रणाली अझै पनि जीविकोपार्जनमुखी छ । विगतमा भन्दा अहिले केही हदसम्म क्रमिक रूपमा व्यवसायीकरणतर्फ भने रूपान्तरण हुँदै गएको छ । यसलाई राम्रै मान्नुपर्छ । तथापि उत्पादित कृषि बालीवस्तुहरूलाई अझ व्यावसायिक एवं प्रतिस्पर्धी बनाउनु तत्कालीन आवश्यकता भइसकेको छ । आन्तरिक तथा बाह्य बजारको पहिचान गर्दै कृषिजन्य उत्पादनको उच्च वृद्धि गर्नु कृषिक्षेत्रको विकासका लागि अपरिहार्य भएको छ । कृषिजन्य उत्पादन बढाई आयात प्रतिस्थापन एवं निर्यात प्रवद्र्धन गर्नु आवश्यक छ ।
साँच्चिकै देश समुन्नत बनाउने सरकारको मनसाय छ भने कृषिमा उत्पादकत्व वृद्धि गर्नुपर्छ, उत्पादकत्व वृद्धि गर्न कृषिमैत्री नीति कार्यक्रम हुनैपर्छ । कृषि विकासमा हाल रहेका ‘प्रधानमन्त्री कृषि आधुनिकीकरण’ जोनवाला कार्यक्रम र ‘एडिएस’ का कर्यक्रमले मात्र पुग्दैन । त्यसमा कृषिउपज वृद्धि गर्ने भनिएको छ, तर किसान प्रोत्साहनका कुनै विषयवस्तु समावेश गरिएको छैन, अब कृषि कर्म गर भनेर मात्र हुन्न । त्यसले जीवन निर्वाह मात्र गरेर पनि हुन्न, व्यवसाय र व्यावसायिकतासँगै देशको खाद्यान्न, दूध, तरकारी, माछा र मासुको अभावलाई समेत सम्बोधन गर्न सक्ने हुनुपर्छ । कृषिक्षेत्र किन पनि उच्च महत्वको छ भने यसबाट विभिन्न उद्योग सञ्चालन गर्न सकिन्छ । कृषिमा आधारित उद्योगको विकासले समग्रमा नेपालको आर्थिक विकास मात्र नभएर रोजगारीसमेत सिर्जना हुन्छ । उद्योग, व्यापार, कृषि—यी तीनको बीचको सम्बन्ध एउटै ओदानको तीनवटा खुट्टाजस्तै हुन्छ । कृषिबाट हामीले दैनिक उपभोग गर्ने खाद्यान्न आपूर्ति हुन्छ भने यसबाट राष्ट्रिय आयमा समेत टेवा पुग्छ । कृषिमा आवद्ध धेरै किसान अझै पनि परम्परागत कृषिमै आवद्ध छन् । उनीहरुलाई परम्परागतबाट व्यवसायिकतर्फ आकर्षण गर्न सरकारी तवरबाटै प्रोत्साहन गर्नुपर्छ । यसर्थ प्रांगारिक मलको सुव्यवस्था गरी कृषि उत्पादनलाई रासायनिक मल र विषादीरहित गराउँदै कृषि पशुपक्षी उत्पादनमा आधुनिकीकरण र अर्गानिकीकरण गराउनु अहिलेको आवश्यकता हो ।